ज्येष्ठ नागरिकलाई घरमै चाडपर्व भत्ता वितरण
नविन शिशिर
बागलुङ, कात्तिक १७ गते । बागलुङको गलकोट नगरपालिकाले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च वितरण गरेको छ । ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक उत्तरदायित्व अन्तर्गत ८५ बर्षमाथिका ज्येष्ठ नागरिकलाई जनही तीन हजार रुपियाँको दरले तिहार पर्वलाईलक्षित गरेर चाडपर्व भत्ता वितरण गरेको हो ।
चाडपर्व खर्च वितरणको लागि प्रत्येक वडामा रकम निकासा भएको महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता अधिकारीले जानकारी दिनुभयो । नगरभित्र ८५ बर्षमाथिका दुईसय ५२ नागरिक छन् । नगरसभाले चाडपर्व भत्ताको लागि आठ लाख रुपियाँ विनियोजन गरेको थियो । ८५ बर्षमाथिका १५ जना ज्येष्ठ नागरिकलाई घरमै पुगेर भत्ता वितरण गरेको गल्कोट नगरपालिका– ११ का वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिनुभयो ।
गलकोट नगरपालिका १ मा सबैभन्दा बढी ४६ जना र वडा– ४ र ७ मा सबैभन्दा कम ११–११ जना छन् । शाखा प्रमुख अधिकारीकाअनुसार वडा– २ मा १८, वडा– ३ मा २३, वडा– ६ मा २७, वडा– ८ मा २२, वडा– ९ मा १७, वडा– १० मा ३१ र वडा– ११ मा २३ जना ज्येष्ठ नागरिक छन् ।
नगरपालिकाले विगत तीन बर्षदेखि ज्येष्ठ नागरिकलाई सम्मान तथा स्थानीय सरकारको अनुभुति हुनेगरी चाडपर्व खर्च र सम्मानको कार्यक्रमलाई निरन्तरता दिएको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकले पनि उक्त सुविधा पाउँछन् ।
स्थानीय सरकारले घर–घरमा चाडपर्व भत्ता वितरण गरेपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । ‘आफ्नो गोजीमा दुई चार पैसा हुँदा बलियो अनुभव हुन्छ’ रिघाका ९७ बर्षिय पतिराम पुनले भन्नुभयो– ‘घरमै भत्ता पाउँदा सरकारले बुढाबुढीको सुरक्षा गर्छ कि भन्ने आशा पलाएको छ । नगरका ११ वटै वडाले घरमै पुगेर भत्ता वितरण सुरु गरेका छन् । दशैअघि प्राविधिक कारण रकम निकासा नहुँदा रकम वितरणको काम स्थगित भएको थियो ।