बौद्ध दर्शनले सार्क मुलुकलाई जोडेको छः सार्क महासचिव विराकुन
लक्ष्मण पौडेल
भैरहवा, कात्तिक १७ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसला विराकुनसहितको टोली लुम्बिनीको अवलोकन भ्रमणमा आएको छ । टोलीमा उहाँकी पत्नी एवं श्रीलंकन राष्ट्रपतिको विदेश विभाग पूर्व निर्देशक क्रिशान्ति विराकुन, श्रीलंकन महाविहारका इन्चार्ज पन्नसरा थेरो, युएनडीपी लुम्बिनी कार्यालय प्रमुख सुदीप अर्याल, पर्यटन व्यवसायी कृष्ण अधिकारीलगायत हुनुहुन्छ ।
अवलोकनकै क्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै महासचिव विराकुनले बौद्ध दर्शनले सार्कका मुलुकलाई एकापसमा जोड्ने काम गरेको बताउनुभयो । सार्कमा रहेकामध्ये दुई वटा मात्रै बौद्ध राष्ट्र भएपनि अन्य मुलुकमा पनि बुद्धिष्ट र बौद्ध संस्कृति महत्वपूर्ण रहेको बताउनुभयो ।
नेपालबाट शान्तिको सन्देश विश्वभर फैलिरहेको बताउनुभयो । बुद्धका सन्देशले सार्क मात्रै नभई विश्वलाई नै शान्ति र करुणामय राख्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सार्कका अन्य मुलुकका विश्वविद्यालयका शैक्षिक कार्यक्रमसँग जोड्न आफूले सहयोग गर्ने उहाँले बताउनुभयो ।
“सार्क मुलुकहरुबीच सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तार गर्नुपर्छ, बुद्ध दर्शन महत्वपूर्ण पाटो हो” उहाँले भन्नुभयो । विद्यार्थीलाई एकअर्का मुलुकमा अध्ययन गर्न पठाएर सार्क देशबीच बलियो सम्बन्ध कायम हुनसक्ने उहाँले बताउनुभयो । त्यस अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्वविद्यालयले सार्कमार्फत अन्य देशसँग प्राज्ञिक उन्नयनमा सहकार्य गर्न खोजिरहेको बताउनुभयो ।
विश्वविद्यालयले विदेशी विद्यार्थीलाई अध्यापन गराइरहेको र त्यसमा सार्क मुलुकका विद्यार्थीलाई लुम्बिनीमा ल्याई बौद्ध दर्शनको पठनपाठन गर्नका लागि सार्क सचिवालयबाट पहल गरिदिन आग्रह गर्नुभयो । दश वर्षे रणनीति बनाइरहेको विश्वविद्यालयलाई आवश्यक सुझाव दिन समेत महासचिवलाई उहाँले अनुरोध गर्नुभयो ।
त्यस अवसरमा विश्वविद्यालयका डीनहरु डा. माणिकरत्न शाक्य, प्रा.डा. रामचन्द्र पौडेल, प्राध्यापक डा. संकिच्च महास्थविरले लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन अध्ययन र अनुसन्धान तथा बौद्ध स्थलको उत्खनन्सम्बन्धी गरेका प्राज्ञिक गतिबिधि बारेमा जानकारी गराउनुभयो ।
सार्क महासचिव विराकुन नेतृत्वमा आएको टोलीमा उहाँकी पत्नी एवं श्रीलंकन राष्ट्रपतिको विदेश विभाग पूर्व निर्देशक क्रिशान्ति विराकुन, श्रीलंकन महाविहारका इन्चार्ज पन्नसरा थेरो, युएनडीपी लुम्बिनी कार्यालय प्रमुख सुदीप अर्याल, पर्यटन व्यवसायी कृष्ण अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो । टोलीले लुम्बिनी बौद्ध विश्वविद्यालयपरिसरको बौद्ध स्तुपा, केन्द्रीय क्याम्पसको अवलोकन गरेको थियो ।