कपिलवस्तुको बाणगंगामा मध्यराती ३१ जना जुवाडे पक्राउ
जानु पाण्डे
कपिलवस्तु कात्तिक १९ गते । कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट ३१ जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पिपराले गए राती जुवा खेल्दैगरेको अवस्थामा नगरपालिकाका २ स्थानबाट ६ लाख १९ हजार १ सय २७ रुपियाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
प्रहरीले बाणगंगा नगरपालिका २ तिनैयाबाट राती ११ः३० बजे लेकवेसी होटेलबाट १२ जना र वडा नं. १ वैरीयास्थित किशोरजङ्ग पुनको घरबाट रातीको २ बजे १९ जना जुवाडे पक्राउ गरेको बताएको छ । पक्राउ परेका ३१ जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा लगिएको छ ।
उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १२५ अन्तर्गत मुद्दा चलाइने कपिलवस्तु प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको विस्तृत विवरण प्रहरीले सार्वजनिक गर्न मानेको छैन ।