खुला | प्रदेश |

पशुसँग सुँगुर जुधाउने खेललाई निरन्तरता दिदै किसान

शिवशंङ्कर मिश्र
बारा, कात्तिक १९ गते । यमपञ्चक अर्थात तिहारको चौथो दिन गाई, गोरु र भैसीलाई नुहाई धुवाईगरी डोरीसमेत नयाँ लगाएर मीठो खानेकुरा खुवाएर सुगुरसँग जुधाइएको छ । यसरी पशु र सुगुर जुद्धाउने खेललाई तराई मधेशमा डार खेल भन्निछ ।

गाई, गोरु र भैसीलाई शुक्रबार गोवर्धन पुजागरी पशुलाई सजाएर सुगुरसँग जुद्धाउने खेल खेलाइएको छ । बर्षमा एक पटक यसरी घरपालुवा गाई, गोरु र भैसीलाई सुगुरसँग आजको दिनमा जुधाउँदा पशुमा रोग नलाग्ने जनविश्वास रहेको महागढीमाई नगरपालिका १० गंजभवानीपुर टोलका किसान राजबंशीप्रसाद यादवले बताउनुभयो ।

हिन्दुहरुले गोवर्धन पुजाको सन्ध्यामा परापूर्वकालदेखि मनाउँदै आएको पशु सुँगुरको खेल हराउदै गएको छ । गाई, गोरु र भैसीको संख्या कम भएको तथा पशु पाल्ने रहर गाउँटोलमा कम भएकाले पशु र सुँगुर जुधाउने खेलप्रति आस्था थोरै ठाउँमा देखिएको भैसीपालक मिठु राउत अहिरले जानकारी दिनुभयो ।

पशु र सुगुरसहितको जुधाउने खेल मात्र नभई धान बालीमा कुनै रोग लागेपछि धान खेतमा हामीले सुँगुर पाल्ने डोमलाई केही रकम दिएर सँुगुर समेत घुमाएको उहाँले भन्नुभयो । अहिले प्राविधिक युगमा यो कुरा कसैले मान्दैनन् उहाँले बताउनुभयो । यसरी धानखेतमा सुँगुर घुमाए पछि धानबालीमा लागेको रोग निको हुने अर्का किसान नागेन्द्र महतो कोईरीले जानकारी दिनुभयो ।

सुँगुर जुधाउन समुदायबाट चन्दा संकलन गरी नौ हजार रुपियाँमा सुँगुर खरिद गरी डार खेल सुचारु गराइएको महागढीमाई नगरपालिका निवासी कुईश राउत यादवले जानकारी दिनुभयो । वडा नम्बर–२, ३, ४, १० र ११ वडामा समेत पशु र सुँगुर जुधाउने खेल खेलाइएको वडा नम्बर–४ का अमिका ठाकुर शर्माले बताउनुभयो ।