सुन पसलमा चोरी, चोर पत्ता नलागेको प्रहरीको भनाई
प्रेमराज सिम्खाडा
कालीकोट, कात्तिक २१ गते । कालीकोट जिल्लाको सदरमुकाम मान्ममा दिउसै एक सुन पसलमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयदेखि अन्दाजी एक सय मिटरको दुरीमा वुधवार बिहान न्यु काठमान्डौ शुभलाभ सुनचादी पसलमा चोरी भएको हो ।
बिहान पसल खोलेर चिया खान अर्को पसलमा आफ्नो श्रीमानलाई बोलाउन गएको समयमा पसलमा चोरी भएको पसल सञ्चालक लोकेन्द्र सुनारकी श्रीमती भगवती सुनारले बताउनुभयो । “हाम्रो दुई वटा पसल छ । मुख्य पसलमा म आफै र शाखा पसलमा श्रीमान बस्नुहुन्थ्यो” सुनारले भन्नुभयो ।
श्रीमानलाई चिया खान बोलाउन गएकोबेला बिहान सिसाको काउण्टर फुटाएर सुन चोरी भएको उहाँले जानकारी दिनुभयो । चोरले करिब २५ तोला सुन चोरेको उहाँले बताउनुभयो । १६ गते बिहान पसलमा चोरी हुँदा प्रहरी पनि घटना स्थलमा पुगेको थियो । तर अहिलेसम्म चोरको पहिचान गर्न प्रहरीले नसकेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी चक्र शाहले ६ देखि १० मिनेटको समयमा पसलबाट सुन चोरी भएको बताउनुभयो । त्यत्रो सानो समयमा चोरी भएको देख्दा आफूलाई पनि आश्चर्य लागेको उहाँले बताउनुभयो ।
“बिहान प्रहरीको गस्ती जाँदा पसलमा लिपपोत भइरहेको थियो । जिल्ला समन्वयको अतिथि गृहको अगाडि केही मान्छे घाम तापेर बसेका थिए । त्यहीबेला पसल सञ्चालक भगवती सुनार आफ्नो श्रीमानलाई चिया खान बोलाउन जानुभयो, त्यही मौकामा पसलमा चोरी भएको देखिन्छ” प्रहरी प्रमुख शाहले भन्नुभयो ।
पसलवाट चोरी भएको सुनबारे प्रहरीको प्रतिवेदनमा २५ तोला उल्लेख छ । पसल सञ्चालकले खरिद गरी ल्याएको बिलका आधारमा प्रहरीले घटना सर्जिमन मुलुल्कामा २५ तोलाको २३ लाख ५० हजार मूल्य निर्धारण गरेको छ । चोरबारे अनुसन्धान भइरहेको भएपनि चोर पत्ता नलागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत तथा सुचना अधिकारी प्रहरी निरिक्षक भुपेन्द्र शाहीले शंकास्पद ब्यक्तिको घर तलासी भएको र केहीको फिंगर लिएर परिक्षणका लागि पठाउने तयारी भइरहेको बताउनुभयो ।