खुला | प्रदेश |

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा एकजना किशोरीको ज्यान गएको छ । दुर्घटनामा परी चालकसहित छ जना घाइते भएका छन् ।

प्रहरीकाअनुसार जिल्लाको मैवा गाउँपालिकाद्वारा सञ्चालित प्र १–००१ झ ०२२४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा सोही गाउँपालिका–२ ढुङ्गेसाँघुकी १६ वर्षीया हेमकला थोप्रा लिम्बूको मृत्यु भएको छ ।

ढुङ्गेसाँघुकै स्थानीय एक बिरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लिएर जाँदैगरेको एम्बुलेन्स मदन भण्डारी राजमार्गअन्तर्गत मैवाखोला गाउँपालिका–४ साँघुस्थित मिल्के खण्डमा दुर्घटना भएको थियो ।

सडकबाट करिव ६० मिटर तल झरेर एम्बुलेन्स दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएको लिम्बूको धरानतर्फ उपचारमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार सामान्य घाइते छ जनाको स्थानीय स्वास्थ्य अस्पतालमा उपचार भइरहेको छ । मिल्के खण्डको सडक केही उकालो भएकाले एम्बुलेन्स चढ्न (पिकअप लिन) नसक्दा राति १०ः३० बजेतिर दुर्घटना भएको प्रहरीको भनाइ छ ।