वालुङ समुदायको फुटुक पर्व सम्पन्न
चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङको ओलाङ्चुङगोलामा बसोबास गर्दै आएका सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुक सम्पन्न भएको छ । दशैँको कोजाग्रत पूर्णिमापछिको पञ्चमी तिथिदेखि तिहारको औँसी अर्थात् लक्ष्मीपूजाको दिनसम्म मनाइने फुटुक पर्व सम्पन्न भएको हो ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ मा ओलाङ्चुङगोलामा मात्र मनाइने वालुङ समुदायको महत्वपूर्ण फुटुक पर्व परम्पराअनुसार आगोको राप (ज्वाला) ले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ । ओलाङ्चुङगोलामा रहेको करिव साढे चारसय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बाको धुरी आगोको रापले काटेमा (नाघेमा) शुभ हुने विश्वास वालुङ समुदायमा छ । सोही अनुसार संस्कार, परम्परा र विधि अपनाउँदै पर्व समापन गरिएको ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन भोटे वालुङले जानकारी दिनुभयो ।
गतवर्ष कोरोनाको प्रभावका कारण सामान्य रुपमा फुकुट पर्व मनाइए पनि यो वर्ष भने धुमधाम साथ मनाएको वालुङ समुदायले जनाएका छन् । परापूर्व कालदेखि मनाइँदै आएको फुटुक पर्वमा देश विदेशबाट पाहुनाहरु सहभागी भएका थिए । वालुङ समुदायका आफन्त, नातेदारहरु पर्व मनाउन अर्थात पर्वमा सहभागी बन्न ओलाङ्चुङगोलामा आएका थिए । यस्तै, फुटुक पर्वमा नजिकैका बस्ती याङ्मा, घुन्सा, फले, ग्याब्लालगायत स्थानका मानिस सहभागी हुने गरेका छन् ।
स्थानीय तेन्जिङ वालुङका अनुसार पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पूजापाठ गर्ने गर्छन् भने देव नृत्य देखाउने गर्दछन् । करिव दुईसाता अवधिसम्म मनाइने फुटुक पर्वको पछिल्लो चार दिनलाई मुख्य दिन मान्ने गरिन्छ । मुख्य दिनमा आगोमा घ्यू र तेल लगाएर राप वा ज्वालाले गुम्बाको धुरी कटाएपछि पर्वको विधिवत् रुपमा समापन हुने वालुङको भनाइ छ ।
उहाँका अनुसार पर्वको अन्तिम दिन समापनमा मुख्य लामाले देवता नृत्य प्रदर्शन गर्ने गर्दछन् । देवता र राक्षसको मखुण्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय र सत्यको जित कसरी हुन्छ भन्ने अभिनय देखाउने गरिन्छ । लामाको नृत्य र प्रस्तुति हेर्न साथै भगवान्को आशिर्वाद थाप्न लिनका लागि स्थानीयवासी र बाहिरका पाहुनाहरु गुम्बा नजिकै पाल र टेन्ट टाँगेर बस्ने गर्दछन् ।
फुटुक पर्वमा नयाँ कपडा फेर्ने, मिठोमसिनो परिकार बनाएर खाने प्रचलन पनि रहेको स्थानीय बताउँछन् । यसरी वालुङ समुदायले परापूर्व कालदेखि नै निरन्तर फुटुक पर्व मनाउँदै आएका छन् भने उनीहरुको भव्य र महत्वपूर्ण सांस्कृतिक पर्व फुटुक हो । चीनको स्वाशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलामा मात्र वालुङ समुदायको बसोबास छ । तीन हजार दुई सय मिटरको उचाइ रहेको तमोर किनारको बस्ती ओलाङ्चुङगोलामा हाल वालुङका ५२ घरपरिवार छन् ।