नेपालगञ्जमा संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु
सिराज खान
नेपालगञ्ज, कात्तिक २२ गते । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । संक्रमण हुने क्रम घट्दै गएको बेला नेपालगञ्जकी एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका– १८ कारकाँदो निवासी ६९ वर्षकी महिलाको भेरी अस्पतालमा आइतबार राति मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
समितिका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ती महिलालाई कात्तिक ६ गते कोरोना पुष्टि भएको थियो । उनको अवस्था राम्रो नभएकाले त्यसै दिन अस्पतालमा भर्ना गरिएको थियो ।
एपचारका सबै विधि अपनाईए पनि स्वास्थ्यमा सुधार नहुँदा ती महिलाको गएराति मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो ।
यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४० पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएकाहरु मध्ये ४२८ जनाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।