खुला | प्रदेश | पर्यटन |

हात्तीछहरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्दै


बाबुराम शर्मा
चरीकोट, कात्तिक २३ गते । दोलखाको भीमेश्वर नगरपालिका–७ मा पर्ने र हात्तीछहरा अहिले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ ।
सो स्थानसम्म पुग्ने यातायात र पैदलमार्ग निर्माण भएपछि प्रकृतिको अनुपम उपहारको आकर्षणले सिँगारिएको हात्तीछहरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको स्थानीय एवम समाजसेवी राजन बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार पैदल यात्रुहरुका लागि विभिन्न प्राकृतिक दृश्यहरु हेर्दै,अवलोकन गदै भ्रमण गर्न वडा नम्बर ७ ले दश लाख रुपियाँको लागतमा चरङ्गे खोलाबाट बिरौटा भन्ने स्थानसम्म पैदलमार्ग निर्माण गरेको हो । वडा नम्बर ८ बोचले पनि तयार गरेको पैदलमार्ग त्यहीँ जोडिएको छ । दुवैतर्फबाट त्यहाँ पुग्न सकिन्छ । उल्टो सि आकारमा यो पैदलमार्ग तयार भएको छ । दुई हजार एक सय मिटर लामो र दुई मिटर चौडाइमा पैदलमार्गमा निर्माण भएको छ ।
पौराणिक ग्रन्थमा वर्णन गरिएको स्वर्गको नन्दन नामको अत्यन्त राम्रो बगैंचामा पुण्य गर्ने मानिसहरूको मृत्युपछि वास हुन्छ भन्ने विश्वास गरिन्छ । सबै देवता र अप्सराहरू त्यहाँ आनन्दले रहन्छन् भनिन्छ । त्यही झझल्को दिने हात्तीछहरा झरनाले सबैको मन लोभ्याउने मात्र होइन आनन्दित र प्रफुल्ल पार्ने स्थानीयवासी बताउँछन् ।
सदरमुकाम चरीकोटबाट मकैबारी, साखिने, सस्पाले, मगर टोल, ढाड चौर, सेलिङ, थलथले सिम, बाघखोर, गैरी, बिरौटा महभीर साँधको डाँडो हुँदै करिब तीन घण्टाको पैदल यात्रापछि प्रकृतिले दिएको अनुपम उपहार हात्तीछहरा पुग्न सकिन्छ । सवारी साधनमा जाने हो भने सदरमुकाम चरिकोटबाट ४५ मिनेट यात्रापछि त्यहाँ पुगिन्छ । चर्नावती सामुदायिक वन उपभोक्ता समूह परिसरको बाटो हुँदै चराचुरुङगीको चिरबिर आवाज, खोला, प्राकृतिक मनोरम दृश्य, मृग, कालिज, डाँफे मुनाल,घोरललगायत अन्य जङगली जनावरको दृश्य अवलोकन गर्दै हात्तीछहरा जाने जो कोही पर्यटक पनि मन्त्रमुग्ध नहुने कुरै छैन ।
लगभग एक सय मिटर उचाइबाट झर्ने झरना हात्ती छहरा सदरमकामबाट सबैभन्दा नजिकको पर्यटन गन्तव्य को रूपमा लिन सकिन्छ । अधिकांशको रोजाइ बन्न पुगेको छ अहिल हात्तीछहरा झरना । भ्रमण हुन लागेकै बेला कोरोना महामारीले कम भएको यात्रा अब बन्दाबन्दी खुल्ने बित्तिकै घुइँचो लाग्ने विश्वास लिइएको स्थानीय एवम समाजसेवी बस्नेतले बताउनुभयो ।
मनमोहक हात्तीछहरा । तस्विर बाबुराम शर्मा