खुला | प्रदेश |

लिमीका किसानलाई जग्गामा हिउँ जमेपछि उवा छर्न सकस

राजन रावत
हुम्ला, कात्तिक २३ गते । हिमालपारिको गाउँ लिमीका तीन गाउँका किसानलाई समय भए पनि खेतमा उवा छर्न सकस भएको छ । कात्तिक पहिलो हप्ता बाक्लो हिमपातले जमिन सेताम्मे भएपछि किसानले उवा छर्न नपाउने भएका हुन् ।
लिमीको हल्जी गाउँका कुन्जोक लामाले तीन फिट हिउ खेतमा जमेपछि वर्षको एक बाली पाक्ले उवाको बीउ छर्न नपाएको बताउनुभयो । उहाँले अहिले छरेको उवा अर्को साल असोजमा पाक्ने भए पनि यसवर्ष छर्न नसकिने अवस्था आएको बताउनुभयो । गत कात्तिक पहिलो हप्ता परेको हिमपात जग्गा भरि जमेर सेताम्मे हुँदा गोरु जोत्न नसकिने अवस्था भएपछि किसान चिन्तामा पर्नुभएको छ । उहाँले जग्गामा जमेको हिउँ फालेर सम्भव नहुने देखिएपछि उवा छर्न नपाइने भएको कारण किसान चिन्तामा परेको बताउनुभयो । नाम्खा गाउँपालिका– ६ को लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ तीन गाउँको जमिन सेताम्मे हुँदा उवा छर्ने समय भए पनि छर्न नपाइने बताउनुभयो । यसबाट लिमीका १४७ घरधुरीका स्थानीय प्रभावित हुनुभएको छ । उहाँले लिमीमा आठ सयभन्दा बढी रोपनी जग्गामा उवा छर्न नपाइने बताउनुभयो । उहाँले यो उवा छर्ने समय भए पनि जोत्नका लागि ठिक्क पारिएका जग्गा सेताम्मे रहेको बताउनुभयो । यो समयमा उवा छर्न नपाइए किसानसँग अन्य विकल्प छैन । उहाँले अर्को वर्ष किसानलाई खाद्यान्न समस्या हुने बताउनुभयो ।