खुला |

प्रधानसेनापति भारत प्रस्थान

काठमाडौं, कात्तिक २३ गते । प्रधानसेनापति प्रभुराम शर्मा भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । उहाँ भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा निस्कनुभएको हो । नेपाली सेनाको मध्य एयरबेश, गौचरमा उहाँलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गर्नुभयो ।

प्रधानसेनापतिको नियुक्ति भएपछिको उहाँको यो पहिलो विदेश भ्रमण हो । प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दर्ज्र्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नुहुनेछ । उहाँले आजै भारतीय रक्षासचिव अजयकुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भिआर चौधरीसँग समेत भेटघाट गर्नुहुनेछ । प्रधानसेनापतिको भ्रमण दल श्रीमती सुनीता शर्मासहित नौ सदस्यीय छ । महारथी शर्मा यही कात्तिक २६ गते स्वदेश फर्कनुहुनेछ ।

कामु प्रधानसेनापतिको कार्यभार कार्कीलाई

प्रधानसेनापति शर्माको भारत भ्रमणको अवधिभर उहाँको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने पनि जानकारी दिइएको छ ।