नहरको ‘हेडवर्क’ निर्माण कार्य सुरु भएपछि शहरी र ग्रामीण क्षेत्रमा खुसी
जिवछ यादव
लाहान, कातिक २३ गते । लाहानको पूर्वी भागबाट बग्ने खुटी नदीमा दक्षिणी भेगका किसानलाई सिंचाई गर्न र शहरी क्षेत्रको सौन्दर्यकरणमा सहयोग पुरयाउने उद्देश्यले खुटी नहर सञ्चालनको लागि ‘हेडवर्क’को कार्य सुरु भएको छ । दुई वर्षमा कार्य सम्पन्न गर्ने उद्येश्यका साथ निर्माण कार्य सुरु भएपछि दक्षिणी भेगका किसान र शहरी क्षेत्रका स्थानीयहरु खुसी भएका छन् ।
३५ वर्षदेखि अलपत्र परेको नहर निर्माण कार्यको लागि प्रत्येक चुनावमा प्रतिवद्धता जनाए पनि लहान नगरपालिकाले यस कार्यलाई अघि बढाएपछि शहरी क्षेत्रको सौन्दर्य र सरसफाइको दृष्टिकोणले पनि अति राम्रो कार्यको थालनी भएको लहान–१० का स्थानीय देवराज पोखरेलले खुसी व्यक्त गर्नुभयो ।
खुटी नहर बन्ला र खेत खेतमा सिंचाइ होला भने आस मारिसकेको थियो तर लाहान नगरपालिकाले नहर निर्माण कार्यलाई अघि बढाएपछि लहान–१९,२०,२१,२३ नम्वरका किसानहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने लहान –२० का जितेन्द्र साहले बताउनुभयो ।
२०५४ सालमा पहिलोपटक लाहान नगरपालिकाको नगरप्रमुख चुनिएपछि नहर निर्माणको लागि प्रयास गरे पनि बजेट अभावले निर्माण कार्य सुरु गर्न नसकेकाे भन्दै नगरप्रमुख साहले यस पटक नगरवासीसँग गरेको प्रतिवद्धता पूरा गर्न नहर निर्माणको कार्य सुरु गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘यस नहरले दक्षिणी भेगको हजारौ विगहा जमीनमा सिंचाई र लहानको शहरी क्षेत्रमा जलविहार पर्यटन क्षेत्रको विकासको लागि यस कार्यलाई अघि बढाएको छौ ।’लहान नगरपालिकाले अघि बढाएको नयाँ बजार निर्माण,फोहोरबाट मोहर प्रशोधन केन्द्र र आर्यघाट निर्माणको कार्य ठेका लागेको भएपनि राजनीति पूर्वाग्रहले काम गर्न नदिएको गुनसो नगरप्रमुख साहले पोख्दै विकासको लागि तगारो नबन्न सबैसँग आग्रह गर्नुभयो ।
चुनावको बेला नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पूरा हुन लागेको छ । १० प्रतिशतमा चिडियाघर, हवाइ मैदान कार्यको लागि सङ्घ र प्रदेश सरकारको सहयोग चाहिन्छ, यसका लागि लाहान नगरपालिका प्रयासरत रहेको उहाँले बताउनुभयो ।
तोकिएको समयमा कार्य सम्पन्न गर्न हामी स्थानीयवासीहरु ठेकेदारलाई कार्य गर्न कुनै अवरोध आउन नदिई सहयोग गर्ने लहान–१० का वडाध्यक्ष मन्टीकुमार मण्डलले प्रतिबद्धता व्यक्त गर्नुभयो । ८ करोड ५६ लाख रुपियाँमा ठेक्का लिएको मल्टीटेक कम्पनि प्रालिले दुई वर्षभित्रै हेडवर्कको काम सम्पन्न गर्ने जनाएको छ ।