तीन सातापछि जयपृथ्वी राजमार्जको जालेबगरमा काम सुरु
शैलेन्द्र रोकाया
बझाङ, कात्तिक २४ गते । बाढी पहिरो आई सडक अवरुद्ध भएको झण्डै तीन सातापछि जपयृथ्वी राजमार्गको जालेबगरमा सडक खोल्ने कामको सुरुवात भएको छ । बाढी पहिरोका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि वैपल्पिक बाटो खोल्न सुरु गरिएको हो ।
राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिकाको नारुगौडामा वैकल्पिक बाटो खोली मालबाहक ट्रकहरु र यात्रुबाहक बसबाहेकका साना यातायातका साधनहरु वारपार गर्न सक्ने बनाएको भए पनि पूर्णरुपमा भने निर्माण गरिएको छैन । सडक भएको ठाउँमा सेती बग्न थालेपछि सेती नदीलाई डाइभर्ट गरेर अस्थाई रुपमा वैकल्पिक सडक बनाउनका लागि जालेबगरमा काम सुरु भएको छ ।
जालोबगरको पारि पट्टी थलारा ९ आमबगरको बस्ती भएकाले सेतीलाई डाइभर्ट गर्दा आमबगरको बस्ती जोखिम हुने भन्दै स्थानीयले अवरोध समेत गर्ने बताउँदै आएका थिए । आमबगरबासीलाई बस्ती जोगाउनका लागी तटबन्धनको योजना हालिदिने अश्वासनपछि काम सुरु भएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।
जिल्लामा हवाई सेवा समेत नियमित र सर्वसुलभ नभएपछि यहाँका नागरिकहरु लागि सार्वजनिक यातायातका लागि समेत अनावश्यक समस्या बेहोर्नुपरेको छ । बाढी पहिरो भएको तीन सातासम्म पनि सडक खुलाउन प्रयास नगरेको भन्दै स्थानीय आक्रोसित थिए । सडक सुचारु हुन नसक्दा दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन थालेको छ भने ठूला विकास निर्माणका काम समेत प्रभावित बनेको छ । बजारमा महंगी बढेको छ भने व्यापारीले समेत कृतिम अभाव सिर्जना गरेको स्थानीयको आरोप छ ।