धादिङमा बस दुर्घटना, दुर्घटनामा परी ३५ जना घाइते
धादिङ, कात्तिक २४ गते । धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका– ८ मा आज भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । द्रुत गतिमा गुडेको सवारी साधन साँघुरो घुम्तीमा दुईवटा बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धादिङबेसीबाट चितवन गइरहेको ना ५ ख ३२३५ नम्बरको बस र काठमाडौंबाट धादिङबेँसी हुँदै फूलखर्कतर्फ आउँदैगरेको ना ७ ख ५८२८ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले बताउनुभयो ।
दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर अवस्थाका दुई जनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएकोे छ । बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
केही यात्रुलाई बसमा चेपिएको अवस्थामा समेत उद्धार गरिएको थियो । दुर्घटनापछि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकलाई डोजरको सहायताले सवारी साधन हटाएर यातायात सञ्चालन गराइएको प्रहरीले जनाएको छ ।