चौध वर्षदेखि फरार अभियुक्त पक्राउ
जनार्जन खत्री
सर्लाही, कात्तिक २४ गते । सर्लाही प्रहरीले चौध वर्षदेखि फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।
कुटपीट तथा अङ्गभङ्ग मुद्दामा सर्लाही जिल्ला अदालतबाट २०६४ साल फागुन २१ गतेको फैसलाले चार वर्ष कैद र पाँच हजार रुपियाँ जरिवाना तोकिएका जिल्लाको बलरा नगरपालिका ३ बस्ने सीताराम मिश्रका छोरा प्रदीप मिश्र पक्राउ परेका हुन् ।
मिश्रलाई गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा विशेष सुराकीको आधारमा पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । उहाँकाअनुसार मिश्रलाई अदालतको आदेशअनुसार कैद भुक्तानका लागि गौर कारागार, रौतहट चलान गरिएको छ ।