ग्रामीण भेगमा गुड्ने जिपमा क्षमताभन्दा बढी यात्रु बोकिदै
बेलिना थापा
लमजुङ, कात्तिक २४ गते । तिहारको समय ग्रामीण भेगमा गुड्ने जिपले क्षमताभन्दा बढी यात्रु बोकेको पाइएको छ । निजी सवारी साधनले समेत भाडा उठाएर यात्रु ओसारपसार गर्ने गरेका छन् ।
बेंसीसहरबाट ग्रामीण भेगतर्फ जाने विभिन्न जिपले सामान बोक्ने ठाउँ पछाडीपट्टी समेत भाडाका यात्रु बोकेका छन् । बेंसीसहरबाट खुदी–भुलभुले साथै मनाङ, घलेगाउँ, भुजुङ, गाउँसहर, नाल्मा, पुरानकोट, हिलेटक्सार, चिती, बन्सार, गौंडा, दूधपोखरीलगायत क्षेत्रमा जाने तथा आउने जिप प्रायः सवैले क्षमताभन्दा बढी यात्रु बोकेको पाइएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीकाअनुसार तिहारको समय ग्रामीण भेगमा चल्ने जिप, लामो यात्राका सवारी साधनले बढी भाडा लिने गरेको पाइएको छ । यस्तै, लाइसेन्स, बिलबुकलगायत कागजपत्र नबोकी सवारी साधन चलाएको समेत पाइएको उहाँले बताउनुभयो । उहाँले ग्रामीण भेगमा चल्ने जिपले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको पाइएको बताउनुभयो ।
बढी भाडामा लिएका सवारी साधनबाट तोकिएको भाडा मात्रै लिन लगाएर बढी भाडा फिर्ता गर्न लगाएको उहाँले बताउनुभयो । यात्रु क्षमताभन्दा बढी बोकेका, पछाडि यात्रु बोकेर हिँडेका निजी तथा सार्वजनिक जिपलाई कारबाही गर्ने गरिएको उहाँले बताउनुभयो ।
यस्तै, क्षमताभन्दा बढी यात्रु बोक्ने माइक्रोबसलाई समेत कारबाही गरिएको छ । बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, कागजपत्र नबोक्ने सवारी साधनबाट जरिवाना उठाएको उहाँले बताउनुभयो ।
सवारी साधनले बढी यात्रु बोक्ने र बढी भाडा असुल्ने गुनासो आएपछि प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्की पनि आफैं फिल्डमा खटिनुभएको थियो । बेंसीसहरदेखि खुदीसम्म हिँडेर निगरानीमा खटिनुभएका उहाँले यात्रु क्षमताभन्दा बढी यात्रु बोक्ने, बढी भाडा असुल्नेलगायत १० वटा जिपको कागजपत्र नियन्त्रणमा लिएर कारबाही गर्न प्रहरीलाई पठाएको बताउनुभयो ।
उहाँकाअनुसार ग्रामीण भेगमा चल्ने जिपले बढी यात्रु हालेको पाइएको छ । सामान राख्ने पछाडिपट्टीको ठाउँमा समेत जोखिमपूर्ण तवरबाट यात्रु राखेको पाइएको उहाँले बताउनुभयो । उहाँकाअनुसार ५ जना क्षमताको जिपले १७ जनालाई समेत बोकेको पाइएको छ ।