आँगनमै पानीको सुविधाले माथिल्लो आरुखर्कवासी खुसी
बाबुराम शर्मा
चरीकोट, कात्तिक २५ गते । सदियौँदेखि घण्टौ लगाएर पानी बोकेर ल्याउनुपर्ने भन्झट हटेपछि सैलुङ गाँउपालिका–३ माथिल्लो आरुखर्कवासी खुसी भएका छन् ।
पालिकाको एक घर एक धारा कार्यक्रमलाई सहयोग गर्दै वाटर एड नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च ( सीडीएफ ) दोलखाले सञ्चालन गरेको खानेपानी सुरक्षा तथा बास उत्थानशीलता परियोजनाबाट घरआँगनमै पानी उपलब्ध भएकाले उनीहरु खुसी भएका उपभोक्ता एवम ठाडोबाटो जोरसल्ला खानेपानी तथा सरसफाइ योजना निर्माण समिति अध्यक्ष रञ्जनकुमार कार्कीले बताउनुभयो ।
उहाँका अनुसार स्थानीयलाई घण्टौ लगाएर पानी लिन जानुपर्ने बाध्यता अब हटेको छ । पानी लिनकै लागि एक घण्टाभन्दा बढी समय लाग्ने गर्थ्याे । बाबुबाजेका पालादेखि नै पानीको जोहो गर्न नसक्ने बाध्यताले सधैँ पिरोलिरहेका थियौँ । अहिले आफ्नो घरमै पानी आएपछि धेरै खुसी लागेको छ । यसरी घरमै पानी प्रयोग गर्न पाइन्छ भनेर सोचेको पनि थिएन । हुने बेलामा कता कताबाट जुर्दाेरहेछ ।
अहिले घरमै खानेपानीको धारा निर्माण भएपछि खानेपानी बोक्नुपर्ने दैनिकी फेरिएको खुसी व्यक्त गदै बलबहादुर थापाले भन्नुभयो, घरबाट टाढाको पानीको खोला भन्ने ठाउँको कुवाको पानी पिउनुपर्थ्याे । पालो पाउन पनि गारो थियो । हिउँदमा त पालोका लागि राती तीन÷चार बजे नै कुवामा पुग्नुपर्दथ्यो । अब पानीका लागि हाम्रा समस्या सबै टरेका छन् । अहिले त स्वर्ग जस्तै अनुभव भएको छ । यस्तो होला भनेर सपनामा पनि सोचेको थिएन । हाम्रा बालबालिकाले पानीको समस्या बेहोर्नुपर्दैन अब ।
पानीको अभाव हुँदा यहाँका महिलाहरुले पुरुषको भन्दा बढी समस्या झेल्नुपरेको थियो । उजेली खत्री पूर्व स्मरण गर्दै भन्नुहुन्छ, राती नै जाँदा पनि १० बजेतिर पालो आउँथ्यो कहिलेकहीँ त । अन्तिमतिर धमिलो पानी पाइन्थ्यो । त्यही पनि लिएर आउनै पर्थ्याे, पिउनै पर्थ्याे । महिलालाई बढी पानी चाहिने तर एक गाग्री पानीले पु–याउनु पर्थ्याे । खाना बनाएर भाँडा चोख्याउन समेत पु–याउनै पर्थ्याे ।
हप्तामा एक पटक खोलमा गएर लुगा धुनुपर्ने दुःखेसो पोख्तै उहाँले भन्नुभयो, नुहाइधुहाइ पनि सातामा एक पटक, गाईवस्तुलाई खोलाकै भर थियो । अहिले त घरआँगनमै धारो छ । जति पानी प्रयोग गरे पनि हुन्छ । वस्तुभाउलाई पनि धाराकै पानी प्रयोग गरिन्छ । अबका सन्तानलाई त हाइसञ्चाे भएको छ । महिलाका लागि त वरदान सावित भएको छ ।
सीडीएफका इनिजनियर सुमन आचार्यका अनुसार , व्यक्तिगत घारा १२९ र सामुदायिक पाँच ( लाभान्वित ७२४ ) वासआउट चेम्बर दुई, पानी ट्याङकी ( दुईदेखि पाँच घनमिटर क्षमताका ) १०, एयर भल्व चेम्बर दुई, भल्व च्याम्बर आठ, इनटरप्सन भल्व तीन,ब्रेक प्रेसर चम्ेबर सात, डिस्टी्रब्युटर चेम्बर पाँच, पाइप एन्करेज ३३, इन्ट्रान्स गेट ३२, पाइप दुई हजार १८७ मटिरलगायतका संरचनाहरु छन् ।
यो परियोजनामा वाटर एड नेपालको एक करोड २५ लाख ९२ हजार, गाउँपालिकाको ४१ लाख नौ हजार र उपभोक्ता जनश्रमदान २४ लाख १० हजार गरी कुल एक करोड ९१ लाख १२ हजार रुपियाँ लगानी रहेको जानकारी दिँदै सीडीएफका निर्देशक प्रेमप्रसाद अधिकारीले भन्नुभयो, जडित धाराहरुलाई दिगो, भरपर्दो र पारदर्शीका लागि दुई लाख ७७ हजार ३५० रुपियाँको मर्मत कोषको व्यवस्था गरिएको छ भने यसको वृद्धिका लागि धारामा राखिएको मिटरबाट कम्तीमा पनि प्रतिधारा ्रप्रतिमहिना ११५ रुपियाँ सङकलन गर्ने पनि व्यवस्था मिलाइएको छ ।
पहिलो चरणमा गाउँपालिका, श्रमदान र वाटर एड समेतको कुल छ करोड ३१ लाख ४० हजार रुपियाँ लगानीमा सैलुङमा चार वटा योजनामा २८३ र कालिञ्चोकमा दुई वटा योजनामा २९१ गरी ५७४ वटा धारा निर्माण भएका छन् । दोस्राे चरणमा कुल छ करोड ८५ लाख १० हजार लगानीमा सैलुङमा ३८९ र कालिञ्चोकमा ४१२ गरी कुल ८०१ वटा धारा निर्माणाधीन रहेका पनि निर्देशक अधिकारीले जानकारी दिनुभयो ।