खोपको रेकर्ड राख्न डिजिटलाइजेसन गदै गाउँपालिका
कमल शर्मा
दैलेख, कात्तिक २८ गते । गाउँपालिकामा रहेका १८ वर्षमाथिका नागरिकले कोरोनाविरुद्धको खोप लगाए नलगाएको विवरण सङ्कलन गरी भ्याक्सिनेसन डिजिटलाइजेसन (पूर्णरुपमा अनलाइन रेर्कड) गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, डब्लु.एच.ओ. र यूएनडिपिको अार्थिक तथा प्राविधिक सहयोगमा गुराँस गाउँपालिकाको समन्वय र सेवक दैलेखद्वारा खोप लगाएका र नलगाएका नागरिकको तथ्याङ्क सङ्कलन गरी डिजिटलाइजेसन गर्न लागिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज ओलीले कोभिड–१९ विरुद्ध खोपको रेकर्डिङ तथा रिपोर्टिङको कार्यलाई व्यवस्थित बनाउन प्रत्येक वडामा गणकहरु पठाइएको जानकारी दिनुभयो । उहाँले कोरोना खोपको रेकर्डिङ अनलाइन प्रणालीमा राख्ने र त्यसबाट आफ्नो गाउँपालिकाका कति जना नागरिकले खोप प्राप्त गरे र कति बाँकी छन् भन्ने जानकारी राख्न सहज हुने बताउनुभयो ।
सेवक दैलेखका अध्यक्ष महारुप खत्रीले खोप कार्यक्रम बाट कोभिड–१९ रोगविरुद्ध लगाइने खोपको रेकर्ड तथा रिपोर्टिङलाई पूर्णरुपमा विद्युतीय सिस्टमा लैजानका लागि यो परियोजना सञ्चालन गरिएको बताउनुभयो । उहाँले कोभिड–१९ विरुद्धको खोप लगाउन चाहने १८ वर्षभन्दा माथिको उमेर समूह, खोप लगाउनबाट वञ्चित र यसअघि एक मात्र खोपको डोज लगाएका नागरिकले अनिवार्य रुपमा अनलाइन दर्ता गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा रहेका गाउँपालिकामध्ये दैलेखको गुराँस गाउँपालिकामा मात्र पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘गुराँस गाउँपालिकामा २५ हजार नागरिक रहेको अनुमान गरिएकोमा अहिलेसम्म सात हजार सात सयले खोप लगाएको रेर्कड गरेका छन् ।
गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आर्चायले गाउँपालिकामा सञ्चालित खोप परियोजनाले गाउँपालिकामा खोप लगाएका र लगाउन बाँकी रहेको समूहको यकिन तथ्याङ्क सङ्कलन गर्ने र नलगाएका नागरिकलाई खोप प्रदान गर्न सहज पुग्ने बताउनुभयो ।