मुसहर समुदायका महिला गाउँमा ढाका कपडा उत्पादन गर्दै
बाबुराम देवकोटा
दुधौली (सिन्धुली), कात्तिक २८ गते । दुई वर्षअघि तीनमहिने ढाका कपडा उत्पादन तालिम लिनुभएकी दुधौली नगरपालिका–१० पत्रिङ्गा निवासी मुसहर समुदायकी सीता सदा अहिले व्यवसाय गर्न तल्लीन हुनुहुन्छ । ढाका कपडा उत्पादन गर्ने सिप र प्रविधि जानेपछि सँगै तालिम लिएका १६ जना मिलेर गाउँमै सामूहिक ढाका कपडा उद्योग सञ्चालन गरेको उहाँले सुनाउनुभयो । गाउँघरमा बनिबुतो गरी गुजरा चलाउँदै आएकोमा तालिमपछि व्यवसाय गर्न हौसला मिल्यो र सबै मिलेर कारखाना नै खोलेका व्यवसायी सदाको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘तालिम लिने २१ जना थियौं, व्यवसाय गर्ने १६ जना छौं ।’ सहकार्य नेपालको सहयोगमा आफूहरुले ढाका कपडा उत्पादन तालिम लिएको उहाँले जानकारी दिनुभयो । ‘उत्पादित कपडा स्थानीयस्तरमा नै माग बढिरहेकोले हारालुछ छ’ उहाँले थप्नुभयो, ‘गाँउमै एउटा सटर भाडामा लिएर ढाका कपडा उत्पादन गरेका छौं । सटरभाडा दुधौली नगरपालिकाले तिरिदिँदै आएको छ ।’
मुसहर समुदायका महिलालाई व्यवसाय गर्न सिकाउने उद्देश्यले ढाका कपडा उत्पादन तालिम दिएको सहयोगी संस्था सहकार्य नेपालले जनाएको छ । संस्थाका अध्यक्ष खेटराज अधिकारीका अनुसार ढाका कपडा उत्पादन तालिम लिनेमध्ये अधिकांश मुसहर र दनुवार समुदायका महिला छन् । अधिकांश मुसहर समुदायले आफ्नो जग्गाजमिनको अभावमा सुकुम्बासी जीवन बिताउँदै आएका छन् ।
तालिममा प्रयोग गरिएका तान, धागो सबै कच्चापदार्थ उनीहरुलाई सामूहिक उद्योग सञ्चालन गर्न निःशुल्क उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म लगानी उनीहरुको छैन, कारखाना सञ्चालन गर्न दुधौली नगरपालिकाले साझा सुविधा केन्द्र बनाई दिन लागेको छ ।’ उनीहरुले उत्पादन गरेको ढाका कपडा गाँउघरमै हारालुछ गरी बिक्री भएको र कच्चापदार्थ ल्याउन संस्थाले सहयोग गर्दै जाने उहाँले बताउनुभयो । पछिल्लो समयमा सिन्धुली जिल्लामा ग्रामीण क्षेत्रका बेरोजगार महिलाहरु गाँउमै बसेर ढाका कपडा उत्पादन गरी आम्दानी लिन थालेका छन् । घरेलु विकास समिति तथा विभिन्न सामाजिक संघ संस्थाले ढाका कपडा उत्पादन सम्बन्धी सीप सिकाएपछि उनीहरुले गाँउमै बसेर व्यवसाय गरी आम्दानी लिन सुरु गरेका हुन् । मरिण गाँपाँलिका–२ निवासी सुन्तली घलान तीन वर्षअघि घरेलु विकास समितिबाट तीनमहिने तालिम लिएपछि २२ जना महिला मिलेर गाँउमै खोलेको सामूहिक ढाका कपडा उद्योग आम्दानीको मुख्य स्रोत भएको बताउनुहुन्छ ।
‘उद्योग सञ्चालन गर्न एक जनाको १५/१६ हजार रुपियाँको हाराहारीमा लगानी भएको छ,’ उद्यमी घलानले भन्नुभयो, ‘उत्पादन भएको कपडा सबै कपडा गाउँमै बिक्छ । एक जनाले त्यस्तै महिनाको १४/१५ हजार रुपियाँ जति आम्दानी लिन थालेका छाैं ।’ खाली हात दिन बिताउँदै आएका महिलालाई त्यही आम्दानी पनि ठूलो कुरा भएको उहाँको भनाइ छ ।
स्थानीय स्तरमा आवश्यक कच्चा पदार्थ नपाउँदा अलिकति व्यवसाय झन्झटिलो भने भएको उद्यमीहरुको गुनासो पाइन्छ । उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ लिन काठमाण्डौ र धरान जानुपर्ने बाध्यता रहेको सुनकोसी गाउँपालिका–७ मझुवाकी उद्यमी रीता राईले बताउनुभयो ।
‘त्यत्तिकै खाली हात बस्नुपरेको छैन, खर्चको लागि श्रीमानको भर पर्नुपरेको छैन,’ उहाँले भन्नुभयो । बाहिरबाट व्यापारीले विक्री गर्न ल्याउने ढाका कपडाले स्थानीयस्तरमा उत्पादन हुने ढाका कपडाको बजारलाई केही मात्रामा भने प्रभावित पारेको उहाँको भनाइ छ । ‘यहाँ उत्पादन हुने ढाका कपडा बाहिरबाट आयात हुने ढाका कपडाभन्दा कम गुणस्तर छैन, तर पनि प्रचारप्रसारको अभावले उपभोक्ताहरुको आकर्षण बाहिरबाट आएका ढाका कपडातिर नै छ ’ उहाँले थप्नुभयो ।
सम्बन्धित निकायले स्थानीयस्तरमा कच्चापदार्थको र उद्यमीद्वारा उत्पादित ढाका कपडा बिक्रीको व्यवस्थाको वातावरण सिर्जना गरिदिएको खण्डमा यस जिल्लामा ढाका कपडा उद्योग अझ बढी फस्टाउने तर्क व्यवसायमा संलग्न उद्यमीहरुको छ । यता, घरेलु तथा साना उद्योग व्यवस्थापन समितिको कार्यालय सिन्धुलीका अनुसार जिल्लामा ढाका कपडा उत्पादनको तालिम लिने व्यक्ति बढ्दै गएको जनाएको छ । ढाका कपडा उत्पादनलाई प्रोत्साहन गर्न उद्यमीहरुलाई बाहिरी जिल्लामा अवलोकन भ्रमणमा लैजाने, उत्पादित ढाका कपडालाई प्रदर्शनीमा पठाइदिने र कपडा किन्न आउने ग्राहकलाई सम्पर्क गराइदिनेजस्ता कार्य उक्त कार्यालयले गर्दै आएको छ ।