खुला | समाज |

विधिपूर्वक पूजा गरी बलम्बुको महालक्ष्मी जात्रा सम्पन्न

गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २८ गते । काठमाडौंको बलम्बुमा हरेक वर्ष आयोजना हुने महालक्ष्मी जात्रा आज सम्पन्न भएको छ । बलम्बु महालक्ष्मी जात्रा गुठीद्वारा आयोजित तीन दिवसीय जात्रामा विधिपूर्वक महालक्ष्मी, गणेश र कुमारको पूजा गरी सम्पन्न भएको जात्राका द्वारे पूर्णबहादुर महर्जनले बताउनुभयो ।

कात्तिक शुक्ल अष्टमी गत शुक्रबारदेखि शुरुभएको महालक्ष्मी जात्रा आज विधिपूर्वक सम्पन्न भएको चन्द्रागिरी वडा नं. १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो । नेवार समुदायमा ठूलो महत्व बोकेको जात्राले गाउँ ठाउँमा सुखशान्ति कायम गर्ने विश्वासस्वरुप जात्रा गर्ने गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय बलम्बु (गुरुजुधारा) निवासी संस्कृतिका जानकार सागर श्रेष्ठका अनुसार जात्राको पहिलो दिन अष्टमीमा राङ्गा तथा बोकाको बली दिई भगवानको पूजा गर्ने गरिन्छ । महालक्ष्मी, गणेश तथा कुमारको विशेष पूजा गरी गाउँ तथा समाजमा शान्ति, समृद्धि तथा अमनचैन कायम गर्नेगरी विधिपूर्वक पूजा आराधना गर्ने गरिएको श्रेष्ठले बताउनुभयो ।

लिच्छविकालदेखि महालक्ष्मी जात्रा बलम्बुका नेवार समुदायले महालक्ष्मी जात्रा मनाउँदै आएको विश्वास गरिएको भन्नुहुँदै संस्कृतिका जानकार श्रेष्ठले भन्नुभयो, “अष्टमीदेखि दशमीसम्म तीन दिन महालक्ष्मी, गणेश र कुमारको विधिपूर्वक पूजा अराधना हुन्छ, महिलाहरु ब्रत बसेर विशेष पूजा गर्नुहुन्छ ।” महालक्ष्मी जात्राले समाजमा रहेको दुःख विमारबाट मुक्त गराउने र खुशी छाउने विश्वास गरिएको उहाँले बताउनुभयो । परम्परागतरुपमा मनाइने जात्रामा युवापुस्ताको पनि आकर्षण बढेको उहाँको भनाइ छ ।