खुला | प्रदेश |

गोरखाबाट एमालेको पन्ध्रजना महाधिवेशन प्रतिनिधि छनौट

नरेन्द्र ढकाल
गोरखा, कात्तिक २८ गते । नेकपा (एमाले) को आसन्न महाधिवेशनका लागि गोरखाबाट १५ जना महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । आगामी मंसिर १० गतेबाट सुरु हुने १० औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा १५ जना प्रतिनिधि चयन गरिएको एमाले गोरखाका सचिव कृष्ण नेपालीले जानकारी दिनुभयो ।

क्षेत्र नम्बर १ बाट आठ जना, २ बाट छ जना र उत्पीडितको तर्फबाट १ जना गरी १५ जना प्रतिनिधि छानिएका छन् । ४ हजार ५ सय ९२ संगठित सदस्य रहेको गोरखा क्षेत्र नम्बर १ बाट खुल्ला तर्फबाट सुरेन्द्रबहादुर थापा, गोपाल पाण्डे, कृष्णबहादुर नेपाली, सुरेशबाबु श्रेष्ठ, मोहनप्रसाद भट्टराई र विशाल थापा रहेको निर्वाचन अधिकृत रमेश अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै महिलातर्फ सम्झना देवकोटा र मिना बरामु प्रतिनिधी बन्नु भएको छ । यसैगरी ३ हजार ५८ जना संगठित सदस्य रहेको क्षेत्र नम्बर २ को खुल्लातर्फबाट प्रेमबहादुर गुरुङ, बाबुराम थापा, हरिप्रसाद काफ्ले र कमल दानी क्षेत्री महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । सोही क्षेत्रबाट महिलातर्फ पार्वतीदेवी पाठक र रुपा पन्त सर्वसम्मत प्रतिनिधि छनौट हुनुभएको छ । उत्पीडित तथा दलित तर्फबाट काजीराम रोका प्रतिनिधी बन्नुभएको छ ।

जिल्लाका चुमनुब्री गाउँपालिकाका ७ वटा वडाबाहेक अन्य १० स्थानीय तहका ८७ वडामा अधिवेशन सम्पन्न गरेको एमालेले जानकारी दिएको छ । भौगोलिक विकटताका कारण चुमनुब्रीमा अधिवेशन हुन नसकेको र महाधिवेशन अघि सम्पन्न गर्ने लक्ष्य राखिएको एमाले गोरखाका इन्चार्ज समेत रहनुभएका केन्द्रिय सदस्य रामशरण बस्नेतले जानकारी दिनुभयो ।

सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका १५ जनालाई एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिएको छ । उहाँहरुलाई पार्टीका केन्द्रीय सदस्य रामशरण बस्नेत र निर्वाचन समितिका अध्यक्ष अधिकारीले सयुक्त रुपमा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।