प्रदेश रंगशाला निर्माणका लागि सम्झौता
मुना हमाल
सुर्खेत, कात्तिक २८ गते । प्रदेश रंगशाला निर्माणका लागि प्रदेश सरकार र निर्माण व्यवसायीबिच सम्झौता भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनि एमएसी–जिएसएल कम्पनिबीच आइतबार सम्झौता भएको हो ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा रंगशाला निर्माणका लागि सम्झौतामा हस्ताक्षर भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगर – ८ मा निर्माण गरिने सो रंगशाला निर्माण कम्पनिले २०८१ जेठ ११ गते रंगशाला निर्माण सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
परिषद्का उपाध्यक्ष प्रमोद हमालले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० रुपियाँ लागतमा सम्पन्न गर्नेगरी सम्झौता भएको जानकारी दिनुभयो । उहाँकाअनुसार १० हजार दर्शक अट्ने क्षमताको रंगशाला निर्माण गर्न लागिएको हो ।
रंगशालाभित्र भिआइपी वेटिङ रुम, भिआइपी प्यारोफिट, मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ स्थानलगायतका संरचनाहरु निर्माण गरिनेछन् । भलिबल, बास्केटलागतयका खेलहरु खेल्न मिल्ने रंगशालाभित्र एक हजार ५०० दर्शक हट्ने संरचना निर्माण गरिनेछ ।
उक्त रंगशालाई प्रदेश गौरवको आयोजनाको रूपमा प्रदेश सरकारले यस अघि घोषणा गरेको थियो । कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । उक्त प्रतियोगितालाई लक्षित गरेर रंगशाला निर्माणको कामलाई तीव्रता दिइने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । अहिले हामीले आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छौँ । प्रतियोगितालाई पनि लक्षित गरेर रंगशाला निर्माण गर्न थालिएको हो ।’
सम्झौता कार्यक्रममा मुख्यमन्त्री शाहीले तोकिएकै समयमा रंगशालाको निर्माण सम्पन्न गर्न निर्माण कम्पनिलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘तोकिएको समयमा गुणस्तर काम गर्नुहोस् । बजेटको चिन्ता गर्नुपर्दैन् । सरकारले उपलब्ध गराउँछ ।’