खुला | प्रदेश |

खोर निर्माण गर्न किसानलाई सामग्री सहयोग

कमल शर्मा
दैलेख, कात्तिक २९ गते । पशुपालन गरिरहेका किसानलाई थप हौसला प्रदान गरी व्यवसायिक रुपमा पशु ब्यबसाय गर्न अनुदानमा खोर निर्माण सामग्री सहयोग गरिएको छ ।

गुराँस गाउँपालिका– १, ३, ६, ८, १० वडाका ९० घरका किसानलाई सामाग्री दिइएको हो । गुराँस गाउँपालिका र यु.एन.डिपिको आर्थिक सहयोग र महिला सशक्तिकरण मञ्च नेपालको साझेदारीमा सञ्चालित कोभिड १९ रेस्पोन्स एण्ड सोसियो ईकोनोमिक रिकभरी परियोजना २ अन्तर्गत ९० घरका किसानलाई खोर निर्माणका लागि सामग्री वितरण गरिएको हो ।

गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले पुशपालन गरिरहेका र आर्थिक अवस्था कमजोर भएर खोर निर्माण गर्न नसकेका किसानलाई सामग्री वितरण गरेको जानकारी दिनुभयो । उहाँले कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्केका युवा किसान, एकल महिला र घरेलु हिंसामा परेकालाई प्रथमिता दिएर बितरण गरेको बताउनुभयो ।

महिला शसक्तिकरण मञ्चका अध्यक्ष सुनिता चन्दले प्रत्येक घर परिवारलाई खोर निर्माण गर्न २७ हजारभन्दा बढीको सामग्री दिएको जानकारी दिनुभयो । उहाँले खोर निर्माण भएसंगै बाख्रा,कखुरा समेत वितरण गर्ने जानकारी दिनुभयो ।