खुला | प्रदेश | पर्यटन |

कालापानीलाई बेस क्याम्प बनाइने


बाबुराम शर्मा
चरीकोट, मङसिर १ गते । शैलुङ गाउँपालिका–८ मा अवस्थित कालापानीलाई बेस क्याम्प बनाउन र पर्यटक भित्र्याउन विभिन्न संरचनाहरु निर्माण गर्न लागिएका छन् । पर्यटकहरुलाई सेवा सुविधाका लागि होटल, गोलघरलगायतका संरचनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् । अझ केही सययमा नै यी संरचनाहरु सञ्चालनमा ल्याइने छन् ।
समुद्र सतहदेखि तीन हजार मिटरमा उचाइमा रहेको शैलुङडाँडालाई पर्यटकहरू लक्षित गरी कालापानीलाई बेस क्याम्प बनाइन लागिएको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताउनुभयो ।
उहाँका अनुसार यो स्थान जिल्लाको अग्लो भू–भाग र पर्यटकीय स्थल समेत भएकाले पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।
वाग्मती प्रदेसको साढे दुई करोड लगानीमा गोलघर निर्माण भइरहेको छ । तीन ढलानमा निर्माणाधीन गोलघरमा हलसहित १३ वटा कोठा रहेका गाउँपालिकाका सुपरभाइजर भीजन लामाले जानकारी दिनुभयो ।
यहाँ २० वटा होटल निर्माण हुने लक्ष्य अनुसार तीन वटा बनेर सञ्चालनमा आइसकेका छन् । सुपरभाइजर लामाले भन्नुभयो, ‘यहाँ सौन्दर्य समेत बनाउन ५० लाख रुपियाँमा बुद्धपार्क निर्माण हुन लागेको छ । ५७ लाख रुपियाँमा बौद्ध स्तूपा ( छोर्तेन ) निर्माण भएको छ ।’
पर्यटकलाई शैलुङ जान सहजताका लागि संघीय सरकारको साझेदारीमा ५४ लाख रुपियाँमा पैदल मार्ग निर्माण भइसकेको छ । उहाँले भन्नुभयो, कालापनीदेखि सैलुङसम्म पाँच सय मिटरमा तीन मिटर अग्लो, चार मिटर चौडाइको एक मिटर अग्लो बार रहेको मिनीगेटवाल निर्माणका लागि चार करोड ९४ लाख रुपियाँमा ठेक्का सम्झौता भइसकेको छ ।
शैलुङडाँडामा दुई करोड रुपियाँ लगानीमा ४५ फिट अग्लो छोर्तेन निर्माणाधीन अवस्थामा रहेको छ । शैलुङ, मेलुङ र रामेछापको दोरम्बा गाउँपालिकाले २०÷२० हजार रुपियाँ लगानी गरेका छन् भने बाँकी रकम व्यक्ति, संघ संस्थाहरुबाट आर्थिक सहयोग जुट्दै गरेको जानकारी दिँदै सुपरभाइजर लामाले भन्नु भयो, पर्यटकहरुलाई सुविधाका लागि गाउँपालिकाले फ्रि वाइफाइको व्यवस्था समेत गरिदिएको छ । गाउँपालिकाले सोही स्थानमा साढे दुई केजीको घण्टी जडान गरिसकेको छ । कालापानीसम्म पुग्न गाउँपालिकाले सडक व्यवस्थित गरिसकेको छ ।
गाउँपालिका १२८.६७ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । जिल्लाको एक ऐतिहासिक, धार्मिक, सँस्कृतिक र पयर्टकीय महत्व बोकेको गाउँपलिकामा २९ हजार ९९३ जनसंख्या रहेको छ । गाउँपालिकामा जनजातीय बाहुल्यता रहेको छ ।
निर्माणाधीन गोलघर । तस्विर बाबुराम शर्मा