काँग्रेस प्रदेश अधिवेशनको सरगर्मी बढ्दै
बाबुराम देवकोटा
सिन्धुलीमाढी, मङसिर १ गते । सिन्धुलीमा नेपाली काँग्रेसको १४ औ महाधिबेसनको प्रक्रिया अन्तर्गत प्रदेश निर्बाचन क्षेत्र अधिवेशनको सरगर्मी बढेको छ । प्रदेश निर्बाचन क्षेत्रको अधिवेशन मङसिर ३ गते हुने भएपछि नेतृत्व र प्रदेश प्रतिनिधि चयनका लागि काँग्रेसका नेता तथा कार्यकर्ता छलफल, भेटघाट र भेलामा ब्यस्त बन्नुभएको छ ।
महाधिवेशन लक्षित गरी जिल्लामा काँग्रेसको वडा अधिवेशन भदौ १८ गते र स्थानीय तह अधिवेशन असोज १० गते नै सकिएको छ । सिन्धुलीमा ७९ वटै वडामा सम्पन्न वडा अधिवेशनले एक हजार ४८६ जना क्षेत्रीय प्रतिनिधि सर्बसम्मत चयन गरेको काँग्रेस निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चार वटा प्रदेश निर्बाचन क्षेत्र रहेको सिन्धुलीमा काँग्रेसका नेता तथा कार्यकर्ता उम्मेद्वारी घोषणा गरी भोट माग्न व्यस्त रहेका कमलामाई नगरपालिका–४ का क्षेत्रीय प्रतिनिधि सन्तोष दाहालले जानकारी दिनुभयो । उहाँकाअनुसार वडा अधिवेशनबाट चयन भइआएका क्षेत्रीय प्रतिनिधिहरु अहिले सामाजिक सञ्जालमार्फत क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि लगायत विभिन्न पदमा उम्मेद्वारी घोषणा गरी भोट माग्न व्यस्त बनेका छन् ।
वडा अधिवेशनबाट चयन भइआएका क्षेत्रीय प्रतिनिधिमा अधिकांंश युवा हावी भएको काँग्रेस सिन्धुलीका नेता माणिक ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “यस पटक क्षेत्रीय प्रतिनिधिमा अधिकांश युवा हावी भएका छन् । बिगतमाजस्तो म पुरानो र निष्ठावान भनेर बस्ने नेतालाई महाधिवेसन प्रतिनिधि बन्न निकै सकस पर्ने देखिएको छ ।”
स्थानिय तहको निर्वाचन पनि आउन लागेकाले उक्त निर्बाचनलाई बल पुग्नेगरी अब हुने अधिबेशन सर्वसहम्मत सम्पन्न गर्नुपर्ने काँग्रेस कार्यकर्ताले बताएका छन् । स्थानीयका अनुसार उक्त अधिवेशन सम्पन्न पार्न काँग्रेसका नेता तथा कार्यकर्ता तयारीमा जुटेपछि चुनाबी सरगर्मी बढेको छ ।
काँग्रेसको सङ्गठनमा महत्वपूर्ण मानिने क्रियाशील सदस्य सङख्या सिन्धुली जिल्लामा नौ हजार १७० जना रहेको उक्त पार्टीका जिल्ला सचिब कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँकाअनुसार तीमध्ये पुरानो नबिकरण गरिएका चार हजार ११८ जना र नयाँ क्रियाशील सदस्य बितरण पाँच हजार ५२ जना छन् । दुई वटा सङ्घीय निर्बाचन क्षेत्र रहेको सिन्धुली जिल्लामा क्षेत्र नं. १ मा चार हजार ९७१ जना र निर्बाचन क्षेत्र नं. २ मा चार हजार १९९ जना क्रियाशील सदस्य रहेका छन् ।