काँग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन सुरु
ठाकुरप्रसाद आचार्य
बेनी, मंसिर १ गते । नेपाली काँग्रेस म्याग्दीको आगामी नयाँ नेतृत्व चयनका लागि सातौं जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । अधिवेशनमार्फत पार्टीको १४ औंं राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु पनि चयन गर्ने जनाइएको छ ।
जिल्ला सभापतिमा वर्तमान जिल्ला सभापति खमवीर गर्वुजा र निवर्तमान जिल्ला सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ आगामी नेतृत्वको प्रमुख आकांक्षीका रूपमा देखिनुभएको छ । दुवै पक्षले आफ्नो प्यानल बनाएर चुनावी मैदानमा आउनुभएको छ ।
जिल्लासचिव पदमा गर्वुजा पक्षबाट भरतबहादुर रकालले औपचारिक उम्मेदवारी घोषणा गर्नुभएको छ । जिल्ला उपसभापति पदमा क्याप्टेन मीनबहादुर कार्की, माधवप्रसाद रेग्मी, हरिकुमार श्रेष्ठ, कमल छन्त्याल र कर्णबहादुर भण्डारी (के.बी) ले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
त्यसैगरी सचिवमा गर्वुजा पक्षबाट रकालसँगै हिराबहादुर पुनले समेत उम्मेदवारी घोषणा गरेका छन् । बानियाँ पक्षबाट दुर्गाराम सुवेदी र अजयमिलन श्रेष्ठले सचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
म्याग्दीबाट खुला र समावेशी गरी २५ जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधिका लागि करिब ५० जना आकांक्षी छन् । अधिवेशनमा जिल्लाभरबाट सातसय ५० जना क्षेत्रीय प्रतिनिधिहरुले भाग लिएका छन् ।