खुला |

सामाचकेवा पर्वको रौनक

भउचप्रसाद यादव

काठमाडौँ, मङ्सिर ३ गते । छठको समापनसँगै सुरु हुने सामाचकेवा पर्व शुक्रबार सम्पन्न हुँदैछ । नेपालको तराईमा मनाइने विभिन्न चाडपर्वमध्ये अत्यन्त लोकप्रिय मानिने सामाचकेवा छठको समापनको दिन अर्थात् कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाइन्छ ।
छठजस्तै यो पर्व पनि केही वर्षयता राजधानीमा समेत मनाउन थालिएको छ । दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्व दिदीबहिनीहरूले आफ्ना दाजुभाइको सु–स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै मनाउने गरिन्छ ।

वीरगञ्ज घर भई अहिले काठमाडौँको बल्खुमा तरकारी व्यापार गर्दै आउनुभएका रुपवन्ती झाले दाजुभाइको प्रशंसा र पुरुषार्थको चर्चा गर्दै दिदीबहिनीहरूद्वारा यो पर्व मनाइने गरिएको बताउनुभयो । “तराईको लोकनाटकको झझल्को दिने यस पर्वमा ‘सामा’ र ‘चकेवा’ नाम गरेका दुईवटा मुख्य पात्र हुन्छन् । त्यसैगरी, समाजको खलपात्रको प्रतीकका रूपमा चुक्ली लगाउने एउटा अर्को पात्र पनि हुन्छ,” उहाँले भन्नुभयो ।

“यी तीनवटै पात्रको प्रतीकका रूपमा बनाइएको माटोको मूर्तिलाई बाँसको टोकरीमा राखी कात्तिक शुक्ल सप्तमीको साँझदेखि टोलछिमेकका दिदीबहिनीहरू गाउँको बाहिर खुला ठाउँमा एकत्रित भई सामाचकेवासम्बन्धी गीत गाउँछन्” उहाँले अगाडि भन्नुभयो, “गीतमा दाजुभाइको प्रशंसा तथा चुक्ली लगाउने भन्ने पात्रलाई गाली गरिएको हुन्छ ।” त्यसैगरी सामाचकेवाको प्रतीकका रूपमा रहेको मूर्तिलाई शीत र दुबो खुवाइने गरिन्छ ।”

पर्सा माधोपुर घर भई अहिले राजधानीको कुलेश्वरमा बस्दै आउनुभएका सरिता साहले यो पर्व मनाउने क्रममा असत्य, पाप र असामाजिक तत्वको प्रतीकका रूपमा रहेको चुक्ली लगाउने पात्रको जिउमा आगो लगाइने गरिएको बताउनुभयो । संस्कृतिविद् रामभरोस कापडीले पद्मपुराण, स्कन्दपुराण र साम्बपुराणमा सामाचकेवाबारे चर्चा गरिएको बताउँदै यस पर्वको सुरुवात पौराणिककालदेखि नै भएको बताउनुभयो ।
सामा र चारुबक्रले कात्तिक शुक्ल पूर्णिमाकै दिन नै पुनः मानव जुनी प्राप्त गरेको र त्यसै दिनदेखि हिन्दु समाजमा सामाचकेवाको पर्व मनाउँदै आएको जनविश्वास रहिआएको कापडीले बताउनुभयो ।