राजारानी ताल संरक्षण योजनाको शिलन्यास
हरिप्रसाद कोइराला
उर्लाबारी, मङ्सिर ३ गते । सुनाखरीको राजधानी मानिने उत्तरी मोरङको लेटाङ–१ स्थित राजारानी ताल संरक्षण र सौन्दर्यकरण योजनाको शिलान्यास गरिएको छ । उत्तरी मोरङको पर्यटन िवकासका लागि बहुप्रतिक्षित योजनाका लागि नगरपालिकाले १६ करोड ८१ लाख ९५ हजार ७९७ रुपियाँको सम्भाब्यता अध्ययन गरेको थियो ।
सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले १६ करोड रुपियाँको डिपीआरलाई परिमार्जन गर्न सुझाव दिएपछि नगरपालिकाले ६ करोड ९३ लाख ६७ हजार ८२५ रुपियाँ खर्च हुनेगरी आयोजनाको डिपीआर तयार गरेको थियो । सोही डिपीआर स्वीकृत भएपछि सङ्घीय सरकारसँगको साझेदारीमा आयोजना निर्माण हुनेभएको छ । कुल रकमको ६५ प्रतिशत रकम नेपाल सरकारले अनुदान दिने भएको छ । ३५ प्रतिशत खर्च लेटाङ नगरपालिकाले ब्यहोर्ने बताएको छ ।
आयोजना निर्माणका लागि जेठ २ गते नगरपालिका र सीएम जोसी एण्ड जेभीसँग सम्झौता भइसकेको छ । निर्माण कम्पनीले कुल ५ करोड ६० लाख ९८ हजार ११२ रुपियाँमा ठेक्का सम्झौता गरेको हो । २०७९ सालको फागुन ११ गते निर्माण कम्पनीले नगरपालिकालाई आयोजनाको काम सम्पन्न गरी हस्तान्तरण गर्ने भएको छ ।
आयोजना अन्तर्गत राजारानी ताल परिसरको ४२० रोपनी क्षेत्रफलको घेरवार, काठको भ्यु टावर, दुईवटै तालको पानी संरक्षण हुनेगरी ढुङ्गाको घेरवार लगाई वरिपरिबाट मानिसले अवलोकन गर्न सक्ने बनाइने छ । यस्तै, ठाउँमा चमेना गृह, टिकट काउण्टर, पर्यटकले आराम गर्ने फलैचा र सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
नगरप्रमुख शङ्कर राईले उत्तरी मोरङको पर्यटन बिकासमा राजारानी तालको संरक्षण र सौन्दर्यकरणले यस क्षेत्रको बिकासमा ठूलो महत्व राख्ने बताउनुभयो । उहाँले यो आयोजना ल्याउन ठूलो मेहनत गर्नुपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– “यो सुनाखरीको राजधानी हो । संसारकै सबैभन्दा धेरै प्रजातिका सुनाखरी पाइने यो क्षेत्र नेपालको मात्र होइन, वनस्पति शास्त्रका विद्यार्थीका लागि संसारकै अध्ययन केन्द्र बन्नेछ ।” पूर्व–पश्चिम राजमार्गको मोेरङ खण्ड अन्तर्गत कानेपोखरीबाट १२ किलोमिटर उत्तरमा रहेको राजारानी तालक्षेत्र लेटाङ नगरपालिकाको १ मा पर्छ ।