चिसोका कारण सुनखानी लिमी सीमा सुरक्षा चौकी बन्द
राजन रावत
हुम्ला, मङ्सिर ३ गते । कात्तिक महिना गएसँगै उत्तरी नाम्खा गाउँपालिका– ६ हिमालपारीको गाउँ लिमीको सीमा सुरक्षा प्रहरीचौकी सुनखानी बन्द भएको छ । केश पनि कम हुने र अत्यधिक चिसो हुने भएकाले प्रहरीचौकी बन्द गरेर सदरमुकाम सिमकोटको जिल्ला प्रहरी कार्यालयमा फिर्ता गरिएको हो ।
वडा अध्यक्ष पाल्जोर तामाङले प्रहरीचौकी छोडेर सदरमुकाम सिमकोट फिर्ता हुँदा प्रहरीचौकी बन्द रहेको बताउनुभयो । गत जेठ महिनामा प्रहरी लिमीको चौकीमा पुगेको थियो । सीमा सुरक्षा प्रहरीचौकी लिमी दरबन्दीका प्रहरीहरु पाँचदेखि छ महिनामात्र बस्ने बताउँदै वडा अध्यक्ष तामाङले चिसोमा बस्न कठिन हुने भएको कारण प्रहरीले चौकी बन्द गरेर जिल्लामा हिडेको बताउनुभयो ।
प्रहरी निरीक्षक दानबहादुर भण्डारीले खासै केश पनि नपर्ने र चिसोमा काम गर्न प्रहरीलाई कठिन हुने भएको कारण चौकी छ महिनाका लागि बन्द गरेर प्रहरी जिल्लामा आएको बताउनुभयो । बिगत केही वर्ष यता लिमी प्रहरीचौकीमा उजुरी नै परेको छैन । चौकीमा बस्ने प्रहरीलाई खाद्यन्न व्यवस्थापन गर्न कठिन हुनेगरेको छ ।
काम पनि नहुने र चिसोबाट बच्न पनि वर्षेनी प्रहरीलाई यसरी जिल्लामा तान्ने गरिएको बताउनुभयो । २३ जना दरबन्दी भएको सुनखानी प्रहरी चौकीका लागि हाल नौ जना मात्र कार्यरत रहँदै आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालयले उजुरी नपर्ने र प्रहरीले गस्ती मात्र गर्नुपर्ने भएपनि दरबन्दीअनुसार प्रहरीलाई खटाउन नसकिएको जनाएको छ ।
बन्द रहेको प्रहरीचौकीमा दरबन्दीका प्रहरी आगामी बैशाख जेठ महिनामा लिमी जाने बाटो खुलेपछि मात्र फर्कनु हुनेछ । यो अबधिमा लिमी प्रहरी चौकीका प्रहरीले जिल्लामै काम गर्नुपर्नेछ । प्रहरी हिडेपछि कार्यालयमा ताला लगाएर राखिएको छ ।