खुला | प्रदेश |

शक्तिपीठ उग्रतारा मन्दिरमा देहीजाँत मेला

हिक्मत सिंह
डडेल्धुरा, मंसिर ३ गते । सुदुरपश्चिम प्रदेशको डडेल्धुरामा रहेको प्रसिद्ध शक्तिपिठ उग्रतारा मन्दिरमा शुक्रबार मेला लागेको छ । स्थानीय भाषामा देहीजाँतको रुपमा मानिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा मेला लाग्ने गर्छ ।

बिहिबार बेलुकादेखि सुरु भएको मेला शुक्रबार बेलुकीसम्म गरी राती र दिउँसो लाग्ने गर्छ । जिल्ला तथा जिल्ला बाहिरकाबाट गरी १० हजारभन्दा बढीले मेलाको अवलोकन गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताउनुभयो । मेलामा दुई सयभन्दा बढी विभिन्न स्टलहरु राखिएका छन् । विगत बर्षमा कोभिड १९ का कारण रोक लगाइएको मेला यसवर्ष भने सर्वपक्षीय बैठकको निर्णयबाट सञ्चालनमा ल्याएको अध्यक्ष साँकीले बताउनुभयो ।

डडेल्धुरा सदरमुकामबाट ६ किलोमिटर टाढा अमरगढी नगरपालिका वडा– ८ को दशरथचन्द राजमार्गसँगै रहेको महाशक्तिपिठ उग्रतारा भगवतीको मन्दिरमा बिहानदेखि चारवटा चौलोको संगम पश्चात बिधिवत पूजा सम्पन्न गरी समापन गरिने परम्परा रहिआएको उग्रतारा मन्दिरका पुजारी कृष्णानन्द पाण्डेयले बताउनुभयो ।

जात्रामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला लगायत सीमावर्ती भारतको भू–भागबाट पनि दर्शनार्थीहरु आउने भएकाले प्रत्येक वर्ष भक्तजनको भिडभाड हुन्छ । किबंदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको किंवदन्ती छ । सो रगतलाई आफूले खानाको रुपमा खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा कात्तिकशुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा रहेको स्थानिय भिमबहादुर साँकीले बताउनुभयो ।

देहीजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने बिभिन्न दृश्यहरु, ईष्टमित्र, साथीसङ्गी तथा परिवारजनसँग भेटघाट हुनेगर्छ । भगवतीको गाथाको रुपमा गाईने डेउडा भने खेलिदैन । स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको विक्रि तथा प्रवद्र्धनका लागि मेला प्रसिद्ध छ । वर्षमा एक पटक भव्य रुपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुख प्राप्ती, मनोकामना पूरा हुने जनविश्वास छ ।