गोरखापत्रको प्राविधिक तालिम समापन
गोविन्द शर्मा
बाँके, मङ्सिर ४ गते । बाँकेको कोहलपुरबाट नियमित प्रकाशनको तयारीमा जुटेको गोरखापत्र संस्थानले प्राविधिक तालिम सञ्चालन गरेको छ । गोरखापत्र पश्चिम क्षेत्र प्रकाशन कार्यालय कोहलपुरले सञ्चालन गरेको पाँच दिने वेभ अफसेट तथा प्रिन्टिङ आधारभूत तालिममा आठजनाको सहभागिता थियो । तालिमका सहभागीलाई शनिबार आयोजित औपचारिक कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले प्रमाणपत्र वितरण गर्नुभयो ।
सो अवसरमा कार्यकारी अध्यक्ष सुवेदीले उपकरणमा काम गर्नेहरु गोरखापत्रका लागि लाईफलाईन भएको भन्दै उहाँहरु सँधै सम्मानयोग्य भएको बताउनुभयो । मेसिनमा काम गर्नेहरुका लागि यसपछि पनि आवश्यक तालिम दिइनेछ, कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो, ‘तालिमपछि अब गोरखापत्र प्रकाशनका लागि थप मद्दत पुग्नेछ ।’
कोहलपुर नगरपालिका – ३ मैटहवास्थित गोरखापत्रको पश्चिम क्षेत्र प्रकाशन कार्यालयको निर्माणस्थलमा आयोजित कार्यक्रममा गोरखापत्रका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव मुकुन्द शर्मा, श्रीधर ज्ञवाली, गोरखापत्रका प्रशासन प्रमुख ओमप्रसाद भुसाल, कोहलपुर प्रकाशन कार्यालयका प्रमुख तारा बस्याललगायतको सहभागिता थियो ।