खुला | प्रदेश |

व्यवसाय प्रवर्धन घुम्ती कोष प्रभावकारी बन्दै

विष्णुप्रसाद पोखरेल
दमक, मंसिर ४ गते । झापाको कमल गाँउपालिकाले पशुपालक किसानहरुलाई प्रोत्साहित गर्न शुरु गरेको ‘व्यवसाय प्रवर्धन घुम्ती कोष’ बाट एक सय जना पशुपालक किसानहरु लाभान्वित भएकाछन् ।

सहकारीमार्फत किसानलाई प्रोत्साहन गर्न गाँउपालिकाले २ करोड रुपियाँ विनियोजन गरेको थियो । कार्यक्रममा सहभागिताका लागि निवेदन दिएका आधारमा ७ वडाका सय पशुपालक कृषकहरुले एक लाख ७० हजारदेखि २ लाख रुपियाँसम्मको ऋण पाउने गाँउपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

उहाँकाअनुसार पछि पशुपालक किसानहरुको ब्याज मिनाहा गरिनेछ । आफुले इच्छाएको कमल गाँउपालिका भित्रका ११ सहकारीमार्फत पशुपालक किसानलाई एकैसाथ २ करोड रुपियाँ लगानी गरिएको पनि उहाँले जानकारी दिनुभयो । अहिले सहकारीले आफ्नो सदस्यलाई जसरी प्रक्रिया पु्र्याएर ऋण दिए पनि ब्याज फिर्ता हुने बताइएको छ ।

कमल गाउँपालिका भित्रका कृषि, पशुपालन तथा अन्य व्यवसाय सञ्चालन गर्न पुँजी तथा सीपको अभावलाई परिवर्तन गरी स्थानीयस्तरमा उपलब्ध स्रोत तथा जनशक्तिको प्रयोग गरी रोजगारीका अवसर सिर्जना गर्दै गरिवी न्यूनीकरण गरिने बताइएको छ । दिगो विकास लक्ष्य हासिल गर्न युवाहरुमा रहेको क्षमता र सीपको अधिकतम उपयोग गर्दै रोजगारीको अवसर सिर्जना गरी आयआर्जन कार्यक्रम ल्याइएको काफ्लेले बताउनुभयो ।

गाँउपालिकाले स्थानीय कृषि तथा अन्य व्यवसाय प्रवर्धन ऐन २०७६ द्वारा स्थापित व्यवसाय प्रवर्धन कोषको प्रभावकारी सञ्चालनार्थ स्थानिय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १५ दफा १०२ को उपदफा २ तथा कमल गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्न बनेको ऐन २०७५ को दफा ४ (१) ले दिएको अधिकार अन्तर्गत “व्यवसाय प्रवर्धन घुम्ती कोष सञ्चालन कार्यविधि २०७६” स्वीकृत गरि जारी गरेको पनि उहाँको भनाइ छ ।

व्यवसाय प्रवर्धन कोष सञ्चालन कार्यक्रमबाट छनौट भएका उद्यमी (स्वरोजगार वनेका) युवाहरुले प्राप्त गरेको रकमबाट प्रस्तावित कार्यक्रममा पुँजी लगानी गरे नगरेको विषयमा अनुगमन गर्न अनुगमन समिति बनाइएको गाँउपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताउनुभयो ।