खुला | प्रदेश |

सांसदहरुले विकास निर्माणमा ध्यान नदिएको दोलखाबासीको गुनासो

बाबुराम शर्मा
चरीकोट, मङसिर ४ गते । आधा दशकदेखि मुढे–चरीकोट सडक नबन्दा यहाँका नागरिकले सास्ती खेप्नु परेपछि नागरिक समाज दोलखाले जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुप्रति गुनासो गरेको छ ।

शनिबार सदरमुकाम चरीकोटमा नागरिक समाजले आयोजना गरेको सांसद–नागरिकबीचको चरीकोट–मुढे सडक कहिले बन्छ ? विषयक् कार्यक्रममा नागरिक अगुवाहरुले सो गुनासो गर्नुभएको हो । अबको एक हप्तासम्म पनि सडक निर्माण सुरु नभएमा सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी समेत उहाँहरुले दिनुभयो ।

कार्यक्रमा सडक नबनेसम्म मुढेमै बसेर आन्दोलनमा सरिक हुन र जिल्लाका कुनै कार्यक्रमा सहभागी नहुन पनि समाजले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय, डिभिजन सडक कार्यालय र आयोजनाको कार्यालयमा धर्ना दिने काम भइसकेको जानकारी दिँदै समाजका अध्यक्ष चिरञ्जीवी मास्केले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परिसरमा धर्ना दिने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

आन्दोलनलाई घनीभूत बनाउन जिल्लामा ५०१ सदस्यीय सङघर्ष समिति बनेको र मुख्य प्रभावित भीमेश्वर नगरपालिकाका ३, ६, ७, ८ र ९ वडामा पनि समिति निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । पटक पटक गरेको आन्दोलनको बेवास्ता गरी निर्माणको काम सम्पन्न नगरेकाले अब आन्दोलनलाई कडा बनाउने चेतावनी पनि उहाँले दिनुभयो ।

भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसी, मेलुङ गाउापालिका अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा समाजवादीका नेता भुवन केसी, वडा सदस्यहरु हरिशरण शिवाकोटी, नवीन लामा, कैलाशकुमार श्रेष्ठ, नकुल केसी र चित्रबहादुर भुजेल समेतले सडक नबनेसम्म सम्पूर्ण वाडावासीका तर्फबाट नागरिक समाजलाई पूर्ण रहयोग दिने प्रतिवद्धता जनाउनुभयो ।

यहाँबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तीनमध्ये सांसद पार्वत गुरुङ, शान्तिमाया पाख्रिन र प्रदेशबाट प्रतिनिधित्व गर्ने पाँचमध्ये रचना खडकाको कार्यक्रममा सहभागिता थियो । सिङगो दोलखालीको मुद्दा भएकाले सडक निर्माणका लागि आ–आफ्ना ठाउँबाट लागिपर्ने र नागरिक समाजलाई पूर्ण रुपमा साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
२०७२ सालमा दुई वर्षमा सम्पन्न गर्ने ठेक्का सम्झौता गरी शङकर मालीजेभीले चरीकोट–मुढे २७ किलोमिटर सडक थालनी गरेको थियो । ठेक्कादारले केही काम गरी बीचमा अलपत्र पारेपछि वर्षामा हिलाम्मे र हिउँदमा धुलो सडकबाट नागरिकले सास्ती व्यहोर्नु परेको छ ।