अछामका तीन प्रदेशसभामा काँग्रेसको नयाँ नेतृत्व निर्वाचित
शिवराज ढुङ्गाना
अछाम, मङ्सिर ५ गते । चार प्रदेशसभा रहेको अछाममा नेपाली काँग्रेस अछामले तीन प्रदेशमा नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार राति मतगणना पश्चात् प्राप्त मतपरिणाम अनुसार अछाम अछाम–२ (क) र (ख) मा मतदानबाट र अछाम–१ (क) प्रदेशमा सहमतिमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
पञ्चदेवल विनायक, आधा कमलजार नगरपालिका र तुर्माखाँद गाउँपालिका समेटिएको अछाम–२ (क) को सभापतिमा ताराप्रसाद खनाल सभापतिमा विजयी हुनुभएको छ । खनालले दुईसय ४४ मत ल्याए भने उनका प्रतिद्वन्द्वी कर्णबहादुर बुढाले १२४ मत ल्याएर विजयी भएको काँग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सेनाले जानकारी दिनुभयो । कार्यसमितिको उपसभापति सचिव र सहसचिव खनाल नेतृत्वकै टिमले जित हासिल गरेको छ । खनाल नेतृत्वमा अछाम–२ (क) को उपसभापतिमा कर्ण वयक र खडकबहादुर विष्ट, सचिवमा केशवराज तिमिल्सेना र दीपक न्यौपाने र सहसचिवमा प्रकाश विक र प्रेमबहादुर शाही विजयी हुुनुभएको छ ।
ढकारी गाउँपालिका, मङ्गलसेन र आधा कमलबजार नगरपालिकाको जोडिएको अछाम–२ (ख) को सभापतिमा रविन्द्रबहादुर शाही विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी पूर्णबहादुर रावलले १४१ मतमा सीमित गरेर शाहीले २९१ मत प्राप्त गरेका छन् । यस प्रदेशमा समेत शाहीकै नेतृत्वको टीम विजयी भएको बताइएको छ । उक्त कार्यमितिको उपसभापतिमा रमेश बोगटी र रामचन्द्र ढुङ्गाना, सचिवमा कमल भण्डारी र निलेश रावल, सहसचिवमा नृप थापा र हरिस थापा हुुनुभएको छ ।
चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिका जोडिएको अछाम–१ (क) को सभापतिमा महेश खड्का सहमतिका आधारमा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । उपसभापतिमा विमल कुँवर धन्नाज भाट, सचिवमा बलबहादुर शाह र सङ्गीत केसी, सहसचिवमा विरेन्द्र कुँवर र देवबहादुर खड्कालगायत सदस्य सर्वसम्मत रुपमा निर्वाचित हुुनुभएको छ ।
मेल्लेख, रामारोशन र बान्नीगढी जयगढ गाउँपालिका रहेको अछाम–१ (ख) प्रदेशमा आइतबार उद्घाटन गरिएकाले सोमबारबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने नेपाली काँग्रेस अछामले जानकारी दिएको छ । उक्त प्रदेशको कार्यसमिति सभापतिमा चार जनाको आकांक्षी रहेको बताइएको छ ।
प्रदेशसभा कार्यसमितिमा अधिकांश युवा निर्वाचित भएका छन् । निर्वाचित हुनेमा अछाम–२ का दुवै प्रदेशसभामा काँग्रेस अछामका पूर्वसभापति पुष्पबहादुर शाह टीमले ‘क्लिन स्विप’ गरेको दाबी छ । नेपाली काँग्रेस अछामले यसअघि ९१ वटै वडा र १० वटै स्थानीय तहमा सहमतिका आधारमा कार्यसमिति र प्रतिनिधि छनाेट गरेको थियो ।