कर्मचारी युनियन हुम्लाको अध्यक्षमा बोहरा निर्विरोध निर्वाचित
राजन रावत
हुम्ला मङ्सिर ५ गते । नेपाल निजामति कर्मचारी युनियन हुम्ला शाखाको अध्यक्षमा विशाल बोहराको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । युनियनको आठौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व निर्विरोध चयन गरेको हो । विपि स्मृति भवनमा आयोजना भएको युनियनको आठौं जिल्ला अधिवेशनले बोहराको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको अध्यक्ष बोहराले जानकारी दिनुभयो ।
बोहरा यसअघि पनि सातौं अधिवेशनबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो । युनियनको नयाँ कार्य समितिमा उपाध्यक्ष त्रयमा भक्तिप्रसाद उपाध्याय खुल्ला, मनमाया वली शाही महिला र कलबहादुर रावत समावेशी, सचिवमा सुरवीर शाही, कोषाध्यक्ष हिमाल रोकाया र सहसचिवमा सुवास भण्डारी चयन हुनुभएको युनियनले जनाएको छ ।
त्यसैगरी, खुल्ला सदस्यमा जसबहादुर रोकाया, बिर्ख बोहरा, पेमाछिरिङ तामाङ, अम्मलाल पाण्डे, महिला सदस्यमा उग्रेनबुटी लामा र सर्जनबुटी लामा, श्रेणीविहीन सदस्यमा गोरबहादुर रावत र हर्कधन शाही चयन हुनुभएको छ ।
त्यसैगरी, अधिवेशनले पाँच सदस्यीय केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि चयन गरेको छ । जसमा नेत्रबहादुर शाही, ग्याछो लामा, अश्विीनी कुमार देवकोटा, मोहनबहादुर शाही र रविन्द्र शाही रहनुभएको छ । अधिवेशनको उद्घाटन कार्य हुम्लाका पूर्व उपसभापति जयपति रोकायाले गर्नुभएको थियो ।