खुला | प्रदेश |

बाढी प्रभावितलाई लमजुङ समाज युकेको सहयोग

बेलिना थापा
लमजुङ, मङ्सिर ५ गते । लमजुङको दोर्दी गाउँपालिका ८, बन्सार हिलेबजारका बाढी प्रभावितलाई लमजुङ समाज युकेले सहयोग गरेको छ । लमजुङ घर भई बेलायतमा बसोबास गर्दैआएका आबद्ध रहेको समाजले बाढी प्रभावित क्षेत्रमा तटबन्ध निर्माणका लागि १४ लाख १६ हजार ४२ रुपियाँ सहयोग प्रदान गरेको हो ।

समाजका अध्यक्ष विश्वजङ्ग गुरुङको निर्देशनमा संकलन गरिएको उक्त रकम शनिबार प्रभावित क्षेत्रमै पुगेर प्रदान गरिएको छ । तटबन्ध निर्माणका लागि आर्थिक सङ्कलन अभियानका संयोजक एवं समाजका वरिष्ठ सल्लाहकार मोहनसिङ गुरुङ, सह–संयोजक ज्ञानबहादुर गुरुङ, समाजका वरिष्ठ सल्लाहकार क्याप्टेन देवबहादुर घले, समाजका सांस्कृतिक विभाग सचिव साधुराम गुरुङलगायतले दोर्दी ८ को विपद् व्यवस्थापन समितिका संयोजक एवं वडाध्यक्ष तुलबहादुर घलेलाई चेक हस्तान्तरण गर्नुभयो ।

लमजुङ समाज युकेले प्रदान गरेको रकम तटबन्ध निर्माणमा खर्चिने वडाध्यक्ष घलेले बताउनुभयो । सो सहयोगले बाढी प्रभावित हिलेबजारको संरक्षणमा सघाउ पुग्ने उहाँले बताउनुभयो । बाढी प्रभावितलाई सहयोग नआइरहेको अवस्थामा लमजुङ समाज युकेले गरेको सहयोगप्रति वडाध्यक्षले धन्यावाद ज्ञापन गर्नुभयो ।

आर्थिक सङ्कलन अभियानका संयोजक मोहनसिङ गुरुङले बाढी प्रभावित क्षेत्रको बारेमा आएका विभिन्न समाचार देखेपछि सहयोग सङ्कलनका लागि अघि बढेको बताउनुभयो । प्रभावित क्षेत्रमै आएर जानकारी पाउँदा र अवस्था बुझ्दा निकै दुःख लागेको भन्दै तटबन्ध निर्माण गरी बस्ती जोगाउनको लागि आर्थिक सङ्कलन गरिएको बताउनुभयो । हिलेबजारको संरक्षणका लागि दोर्दीखोलामा चौडाई र उचाई ३–३ मिटरको र लम्बाइ ७३ मिटरको ग्याबिन जाली हालिने भएको छ ।

अभियानका सहसंयोजक ज्ञानबहादुर गुरुङले बेलायतमा रहेका विभिन्न संस्था र १ सय ६८ जनाबाट सङ्कलन गरिएको रकम प्रदान गरिएको बताउनुभयो । पीडितको घाउमा केही रुपमा भए पनि मलम लगाउने काम गरेको बताउनुभयो । तटबन्ध निर्माण पछि कुनै डरविना ढुक्कसँग बस्ने वातावरण मिल्ने उहाँको भनाई छ । अन्य राहतभन्दा पनि वस्ती संरक्षणमा लमजुङ समाज युकेले जोड गरेको बताउनुभयो ।

लमजुङका समाजसेवी मनिप्रसाद गुरुङले लमजुङ समाज युकेले गर्दै आएको काम प्रशंसा गर्न योग्य रहको बताउनुभयो । शिक्षा, स्वास्थ्य, विपद्, बाटो लगायतको क्षेत्रमा सहयोग गर्दैआएकाले नागरिकलाई सहज बनाएको बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रमा तटबन्ध निर्माण हुने भएपछि स्थानीय खुसी भएका छन् । बस्ती संरक्षणका लागि बेलायतबाट सहयोग आएपछि केही हौसला बढेको तटबन्ध निर्माण समितिका अध्यक्ष सागर गुरुङले बताउनुभयो । कार्यक्रममा वडा सदस्य चन्द्रबहादुर गुरुङ, यादमाया घले, फलेनी माध्यमिक विद्यालयका अध्यक्ष नारायण घले, अभियानका सहसंयोजक ज्ञानबहादुर गुरुङका श्रीमति समाजसेवी पदमकुमारी गुरुङलगायतको उपस्थिति थियो ।