खुला | प्रदेश |

सिकारीले थापेको विद्युतीय पासोमा परेर एकको मृत्यु

अविनाश चौधरी
धनगढी, मङ्सिर ८ गते । कैलालीको गौरीगङ्गा नगरपालिका–७ स्थित सुनपाल सामुदायिक वनमा सिकारीले थापेको विद्युतीय पासोमा परेर एक व्यक्तिको मृत्यु भएको छ ।

जङ्गली जनावर मार्नका लागि बिछ्याइएको विद्युतीय धरापमा परेर सोही वडाका ५५ वर्षीय देवबहादुर बोहराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । प्रहरीका अनुसार वनमा राखिएको नाङ्गो तारमा परेर बोहराको ज्यान गएको हो ।

घटनास्थलबाट एक थान भरुवा बन्दुक पनि फेला परेकाले मृतक पनि सिकार गर्न गएकैबेला पासोमा परेर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकको शव नजिकै एक थान भरुवा बन्दुक फेला परेको प्रहरी नायब निरीक्षक रामसिंह कार्कीले जानकारी दिनुभयो ।

सामुदायिक वनका वनहेरालुद्वय छत्रबहादुर धामी र जसुवा धामीले सामुदायिक वनमा रहेको पानी पोखरी नजिक मृतकको शव फेला परेको थियो ।