समृद्ध नेपाल र सुखी नेपाली शीर्षकमा चित्रकला प्रतियोगिता
शालिग्राम नेपाल
चितवन, मंसिर ८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएको छ । समृद्ध नेपाल र सुखी नेपालीको प्रतियागितामा सहभागी कलाकारले चित्र कोरेका हुन् ।
चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ जना कलाकारले भाग लिएका छन् । होटलको २०० मिटर लामो पर्खालमा कलाकारहरुले चित्र कोरेका हुन् । एमाले दशौँ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिको संयोजनमा सिर्जनशील ललितकला संघ र प्रगतिशील ललितकला संघको आयोजनामा चित्रकला आयोजना गरिएको हो ।
२०५५ सालदेखि चित्रकलामा सक्रिय वर्ड आर्ट लिङ्कका सञ्चालक योगेश खनालले समृद्ध नेपाल, सुखी नेपाली अवधारणामा चित्रहरु कोरिएको बताउनुभयो । कोरिएको चित्र हेर्दा देशले चाहेको विकास र समृद्धिबारे सहजै बुझ्न सकिने भन्दै खनालले अधिकांश नवप्रवेशीहरुले चित्रकलामा भाग लिएको जानकारी दिनुभयो ।
कलाकारहरुले देशले शान्ति चाहेको आकृति, आँखाको नानीमा सूर्य चिन्हभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउनेखालका चित्र, स्वयम्भु, धरहरा, परेवा, दुर्लभ पाटे बाघसहितका चित्रहरु कोरेका छन् । उत्कृष्ट चित्र बनाउने कलाकारलाई एमालेको महाधिवेशन उद्घाटनसत्रमा अध्यक्ष केपी शर्मा ओलीले नगद र प्रमाणपत्रसहित पुरस्कृत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।