घरेलु उद्योगसँगै घर घरमै रोजगारीको अवसर
बाबुराम देवकोटा
दुधौली(सिन्धुली), मङसिर १० गते । दुधौली नगरपालिका–११ धनसरी निवासी ७२ वर्षीय वेदप्रसाद पराजुलीले विगत १२ वर्षदेखि खुवा उत्पादन गरी विक्री गर्दै आउनुभएको छ । उहाँले बनाएको खुवा गाउँमा कोसेलीका लागि लोकप्रिय छ । हरेक दिन विहान झिसमिसेसँगै आफूलाई खुवा बनाउन चटारो पर्ने उहाँले बताउनुभयो ।
गाउँमा उहाँको खुवा उद्योग लक्ष्मीनारायण दूध डेरीको नामले परिचित छ । घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीमा दर्ता गरी सुरु गरेको उक्त खुवा उद्योगमा अहिले उहाँको माइलो छोरा, बुहारी र नातिले समेत घरमै रोजगारी पाउनुभएको छ ।
दैनिक ३० किलो खुवा उत्पादन गरी विक्री गर्दै आएको माइलो छोरा तुलसीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हरेक दिन विहान झिसमिसे देखि नै ११ बजेसम्म खुवा बनाउने चटारो हुन्छ । उत्पादन भएको खुवा बढी मात्रामा कोसेली पठाउन गाँउकाले नै किनेर लैजान्छन् । खुवा प्रति केजी थोक मूल्य पाँच सय र खुद्रा मूल्य ५५० रुपियामा विक्री हुँदै आएको छ ।’
घरका आफैँले काम गरेकोले प्रति केजी एक सय रुपियाँ नाफा बस्ने उहाँले सुनाउनुभयो । खुवा व्यवसायी पराजुलीका अनुसार लक्ष्मि नारायण दूध डेरी उद्योगमा दैनिक एक सय ५० लिटर दूध गाउँका किसानले ल्याएर विक्री गर्दै आएका छन् । किसानसँग प्रति लिटर ५० रुपियाका दरले दूध खरिद गर्ने गरेको र ३० जना किसानले दूध विक्री गर्न ल्याउने गरेको उहाँको भनाइ छ ।
सोही ठाँउका अर्का किसान मोहनबहादुर सुनुवारले पनि घरेलु तथा साना उद्योग विकास समिति कमलामाई पाडापाडी फर्म दर्ता गरी भैँसीको पाडापाडी पाल्दै आउनुभएको छ । उहाँको गोठमा यतिखेर १५ वटा पाडा रहेका छन् । धेरै धन कमाउने उद्देश्यले साउदी अरब गएको र त्यहाँ ड्राईभरको काम गर्दा भनेजस्तो कमाई नभएपछि तीन वर्षअघि स्वदेश फर्केर पाडा पाल्न सुरु गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो भन्दाअघि एक लट २२ वटा पाडा पालेकोँ थिए, तीन लाख रुपियाँ फाईदा भयो । २० हजार रुपियाँ जोडी किनेर ल्याउँछु । एक वर्ष पालेर बेच्दा दोब्बर फाईदा हुन्छ ।’ पाडा किन्न व्यापारी घरमै आउने उहाँले जानकारी दिनुभयो ।
व्यवसायिक रुपमा काम गर्नेलाई स्थानीय तहले दिने अनुदान आफूले नपाएको र पावर, पहुँच भएकाले मात्रै लगेको उहाँको दुःखेसो छ । उहाँले थप्नुभयो, ‘हामी जस्ता काम गर्नेलाई त्यो अनुदान दिए पुरस्कार हुन्थ्यो, अरु युवालाई पनि काम गर्न प्रोत्साहन हुन्थ्यो । यहाँ त कामै नगर्नेले पावर र पहुँच लगाएर अनुदान खाएका छन् ।’
सिन्धुली जिल्लामा पछिल्लो समयमा गाउँ गाउँमा घरेलु तथा साना उद्योग खुल्ने क्रम बढेसँगै घर घरमै रोजगारी अवसर पनि बढ्दै गएको छ । घरेलु तथा साना उद्याग विकास समितिका अनुसार जिल्लामा गत असार मसान्तसम्ममा कुल दुई हजार ८९० वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । दर्ता भएका यी उद्योगबाट आठ हजार २२८ जनाले प्रत्यक्ष रोजगारी पाएका उक्त समितिले जनाएको छ ।
समितिका अनुसार रोजगारी पाउनेहरुमा दुई हजार ९१३ जना महिला र पाँच हजार ३७५ पुरुषले प्रत्यक्ष रोजगार पाएका हुन् । दर्ता भएका उद्योग मध्ये उत्पादनमूलक १७५ वटा, उर्जा सम्बन्धि एउटा, कृषि तथा वन जन्य एक हजार १७४ वटा, पर्यटन सम्बन्धि एउटा र सेवामूलक एक हजार ५५७ वटा रहेका छन् ।
हाल जिल्लामा दर्ता भएका घरेलु तथा साना उद्योगहरुमा डेरी, राईस मिल, पानी घट्ट, कन्ट्रक्सन, फर्निचर, सिलाई कटाई, फोटो स्टूडियो, सिलाई, ब्युटिपार्लर, टायलब्लक सम्बन्धी आदि रहेका समितिले जनाएको छ ।