खुला | प्रदेश |

कपिलवस्तुमा चार महिनामा आठ हजार पाँच सय सवारी कार्वाही, ५५ लाख राजश्व संकलन 

नारद कोहार 

तौलिहवा, मंसिर ११ गते। जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले चालू आर्थिक वर्ष ०७८/०७९ को चार महिनाको अवधिमा ५५ लाख ९७ हजार राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक कार्यालयले साउनदेखि कार्तिकसम्म सो राजश्व संकलन गरेको हो ।

ट्राफिक नियम उल्लघन गर्ने आठ हजार ५५० सवारी साधन कार्वाहीबाट उक्त रकम संकलन गरिएको छ । आघिल्लो आर्थिक वर्ष ०७७/०७८ को चार महिनाको तुलनामा ४९ प्रतिशत बढी रकम असुल गरिएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीलिप क्षेत्रीले बताउनुभयो ।

 कार्वाहीमा सबैभन्दा बढी मालबाहक ट्रक, मोटरसाइकल, जिप, कार, बस, ट्याक्टर लगायत रहेको जिल्ला कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा ओभरलोड, सिट क्षमता विपरीत सवारी साधन संचालन, मा.प.से. गरी सवारी सञ्चालन, लाईसेन्सविना सवारी सञ्चालनलगायत सवारी सञ्चालन गरेका उहाँहरु कार्वाहीमा परेको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।

कार्यालयका अनुसार साउनमा एक हजार आठ सय सवारी कारवाहीबाट ११ लाख ३२ हजार, भदौमा दुई हजार दुई सय सवारी कार्वाहीबाट १४ लाख ५५ हजार असुली भएको छ । त्यस्तै, असोज महिनामा दुई हजार तीन सय सवारी कार्वाहीबाट १५ लाख ८४ हजार र कार्तिक महिनामा दुई हजार २५० सवारी साधन कार्वाहीबाट १४ लाख २६ हजार राजश्व असुली गरिएको कार्यालयले जनाएको छ । जिल्लाको तौलिहवा, गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर, ४ नं. जितपुर, पिपरा र पकडीलगायत स्थानबाट राजस्व संकलन गरिएको उहाँले बताउनुभयो ।

राजमार्गमा सञ्चालन हुने साना ठूला सवारी साधनका चालक, परिचालक तथा यात्रुहरुलाई सवारी चलाउँदा, सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा ट्राफिक नियमसम्बन्धी प्रशिक्षण एवम् विद्यार्थीहरुले सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।