खुला | प्रदेश | समाज |

सबै प्रकारका मानवअधिकार हननका घटना बाहिर ल्याउन आग्रह


राजन रावत
हुम्ला, मङ्सिर १२ गते । सबै प्रकारका मानवअधिकार हननका घटनाहरु बाहिर ल्याउन सरोकारवाला पक्षले मानव अधिकारकर्मीहरुलाई आग्रह गरेका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को वर्ष पुस्तकका लागि संकलित घटनाहरुको समीक्षा कार्यक्रममा सो कुरा बताइएको हो ।

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले प्रहरीमा दर्ता भएका घटनाबाहेक समाजमा लुकाउन खोजिएका घटना पनि सार्वजनिक गर्न मानव अधिकारकर्मीलाई आग्रह गर्नुभएको छ । उहाँले प्रहरीमा दर्ता भएको घटनाहरु स्वाभाविक रुपमा कानून अनुसार न्याय पाउने बताउँदै समाजमा मानव अधिकारको हनन हुने खालका घटना हुने तर बाहिर नआएको पक्षलाई उजागर गर्नुपर्ने बताउनुभयो ।

मानव अधिकारका घटना हुनुमा पहिलो जिम्मेवार पक्ष भनेकै समाज गरिने मेलमिलाप रहेको बताउँदै उहाँले त्यसरी घटेको घटनामाथि गरिने मेलमिलापका कुरालाई पनि प्रतिवेदनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

जिल्लाका राजनीतिक दलहरुकातर्फबाट वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरुमाथि सुझाव दिँदै नेपाली काँग्रेसका उपसभापति वसन्त रोकायाले प्रतिवेदनमा पीडितको मात्र नभएर पीडकको पनि कुरा समेट्न आग्रह गर्नुभयो । छाउपडी, बालबिबाह, बहुविवाह, महिला हिंसा, बालबालिका ओसारपसार जस्ता कुरा भएकाले उहाँले ती कुरालाई समेट्नुपर्ने बताउनुभयो ।

उहाँले समाजमा घट्ने तर बाहिर आउन नसक्ने मानवअधिकारजन्य घटनाहरुलाई सार्वजनिक गर्न सके त्यस्ता घटना न्यूनीकरण गर्न सहज हुने बताउनुभयो । प्रहरी नायव उपरीक्षक हेरम्भ शर्माले मानव अधिकारका घटना सार्वजनिक हुन सके प्रहरीलाई अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

इन्सेक प्रतिनिधि नन्दकुमार सिंहले घटनाहरुको सार्वजनिक गर्नुहुँदै उहाँले सिमित साधनस्राेत र जनशक्तिका बावजुद घटना सङ्कलनमा समस्या भइरहेको गुनासो सुनाउनुभयो । समीक्षा कार्यक्रममा सार्वजनिक गरिएका घटना हेर्दा यसवर्ष अघिल्लो वर्षको तलनामा मानव अधिकारका घटनामा कमी आएको देखिन्छ ।

यसवर्ष सार्वजनिक घटनाहरु धम्की र कुटपिटका तीन वटा, स्वास्थ्य र शिक्षा सम्वन्धी दुई वटा, सामाजिक अधिकारका दुई वटा, महिला अधिकारमा तीन वटा गरी दश वटा मानवअधिकार उल्लङ्घनका घटनाहरु  छन् । अघिल्लो वर्ष यसै अवधिमा सार्वजनिक भएका २६ घटना  थिए ।