खुला | प्रदेश | समाज |

जानकी मन्दिर प्राङ्गणमा प्रत्येक साँझ हुने गरेको झाँकी


लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर १२ गते । विवाह पञ्चमी नजिकिएसँगै प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा अहिले विवाह पञ्चमीको तयारी धुमधामका साथ भइरहेको छ । अबेर रातिसम्म टेन्ट लगाउनेदेखि मूलद्वार सजावटमा कामदार व्यस्त देखिन्छन् । मिथिलाको उत्सवहरुमध्ये विवाह पञ्चमी महोत्सवलाई महामहोत्सवको रुपमा भव्यताका साथ मनाउने गरिन्छ । त्रेता युगमा राम र सीताको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव मनाउँदै आएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले बताउनुभयो ।

मङ्सिर १७ गते शुक्तबारदेखि मङ्सिर २३ गते बिहीबारसम्म एक साता हुने विवाह पञ्चमी महोत्सव तयारीका लागि दिनरात जानकी मन्दिर प्रशासन लागेको जानकी मन्दिरका महन्थ वैष्णवले जानकारी दिनुभयो । मन्दिर प्राङ्गणमा कार्यक्रको लागि स्टेज बनाउनेदेखि लिएर जानकी मन्दिर तथा मल द्वारहरु सजाउने कार्य भइरहेको उहाँले बताउनुभयो । उहाँले, ‘प्रत्येक साँझ मन्दिर परिसरमा मङ्गल गीत तथा झाँकी समेत हुने गरेको समेत बताउनुभयो ।

मन्दिरका महन्थ दासले, ‘करिब डेढ वर्ष कारोना कालपछि पुनः बाह्य पर्यटकहरुको आगमन ठूलो संख्यामा देखिन थालेको छ । गत वर्ष कारोना कालमा पञ्चमीमा पर्यटकहरुको संख्या अन्य समयको तुलनामा कम थियो तर अब फेरि पहिलेकै जस्तो पर्यटकहरुको आगमन हुनथालेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘सप्त दिवसीय हुने विवाह पञ्चमी महोत्सवमा उपस्थित सम्पूर्ण आगन्तुकलाई जानकी मन्दिरको तर्फबाट निःशुल्क भोजनको व्यवस्था हुने गरेको छ । महोत्सवको अवसरमा देशको विभिन्न स्थानलगायत भारत तथा विदेशी पर्यटकहरुको पनि आवागमन हुने गरेको उहाँले बताउनुभयो ।

महोत्सवको तयारीका लागि कात्तिक २६ गते शुक्रबार जानकी मन्दिरमा सर्वपक्षीय बैठक बसेको थियो । उक्त बैठकले शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्था, रङ्गभूमिमा द्वार निर्माण, पण्डाल व्यवस्थापन, यातायात व्यवस्था, ट्राफिक व्यवस्थापन, स्वास्थ्य उपचारलगायत उपसमिति गठन गरेको महन्थ दासले बताउनुभयो ।

मङ्सिर १७ गते शुक्तबारदेखि मङ्सिर २३ गते बिहीबारसम्म एक साता वैधिक विधि अनुसार हुने विवाह पञ्चमी महोत्सवमा पहिलो दिन जनकपुरनगर दर्शन हुन्छ, दास्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, अर्काे दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, छैठौं दिन राम सीता स्वय्म्बर तथा विवाह महोत्सव र सातौँ दिन रामकलेवा गरी जन्तीको विदाइ गरेर समापन हुने महन्थ दासले बताउनुभयो ।