काँग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन
लक्ष्मण पौडेल
भैरहवा, मंसिर १२ गते । नेपाली काँग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत सभापति चयन हुनुभएको छ । सभापति पदमा एकल उम्मेदवारी परेपछि खाँण निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिनुभयो ।
संस्थापन समूहका नेता खाँण गृहमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ हुनुहुन्छ । उहाँ यसअघि जिल्ला सचिव हुनुहुन्थ्यो । कतिपय वडादेखि क्षेत्रसम्म दुई समूहमा प्रतिष्पर्धा भएको रुपन्देहीमा जिल्लाको नेतृत्व भने सर्वसम्मत गराउने विषयमा गृहमन्त्री खाँणले पहल गर्नुभएको काँग्रेसजनको भनाई छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष र प्रतिनिधिसभा सदस्य भरत शाह लगायतसँग छलफल गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे र डा. अनिता ढुङ्गाना शाह पनि निर्विरोध निर्वाचित हुनुभयो ।
सचिवमा हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा वासुदेव रिमाल र विष्णु थापा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो । सभापतिमा निर्वाचित खाँणले काँग्रेसलाई अझ गतिशील, चलायमान र ठूलो पार्टी बनाउन लागिपर्ने बताउनुभयो ।
काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही जिल्ला अधिवेशनबाट सभापति, पदाधिकारीका साथै जिल्ला सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । काँग्रेस जिल्ला सदस्यमा रोहिणी गाउँपालिकाबाट प्रमिला नाउँ, इसरार अहमद, ओमसतियाबाट रेखा कार्की, तोलाकान्त बस्याल, सियारीबाट तारा चौधरी थारु, मिननाथ शर्मा, मर्चवारीबाट मालतीदेवी सिंह, राजकुमार चौधरी कुर्मी, कोटहीमाईबाट ममता तेली, चन्द्रभान यादव अहिर, सम्मरीमाईबाट सीता बरई निर्वाचित हुनुभयो ।
त्यस्तै, वीरेन्द्रकुमार यादव, मायादेवीबाट रीता चौधरी, जगदम्बाप्रसाद चौधरी, शुद्धोधनबाट रामेश्वरी सिंह, कृष्णबहादुर विष्ट, कञ्चनबाट अमृता ढकाल, नवराज ढकाल, गैडहवा गाउँपालिकाबाट पार्वती सुनार र निसार मुसलमान निर्वाचित हुनुभएको छ ।
खस आर्यतर्फ अनिता बराल, मीरा भण्डारी, हरिकला अधिकारी (पाण्डेय), हरिप्रसाद अर्याल, तिलकराम ज्ञवाली, नारायणप्रसाद खनाल, रघुनाथ घिमिरे, आदिवासी जनजातितर्फ बेगमकुमारी श्रेष्ठ, मामकला गलामी थापा, डोलबहादुर थापा, झपटबहादुर गुरुङ, मधेशीतर्फ प्रियंका सिंह शाही, शिला पासी, साधना धवल, चन्द्रभावती लोध, प्रेमनारायण कुर्मी चौधरी, अनुपकुमार यादव, बैजनाथ पाठक र राजकुमार यादव निर्वाचित हुनुभएको छ ।
दलिततर्फ अमरावती कोरी, रामकिसन विक, कमला नेपाली, थारुतर्फ सुनीतादेवी चौधरी, गोरखनाथ थारु, दिलबहादुर चौधरी, मुस्लिमतर्फ साबरु निशा, तौलन मुसलमान र अपाङ्गतातर्फ लालबहादुर गुप्ता निर्वाचित हुनुभयो ।