अध्यक्ष ओलीको लिष्ट कुर्दै वन्दसत्र हलमा नेताहरु
शालिग्राम नेपाल
चितवन, मङ्सिर १२ गते । चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौ महाधिवेशनको बन्दसत्र शुरु हुन नसक्दा अध्यक्ष केपी शर्मा ओलीले तयार पार्नुहुने सूची कुरेर नेताहरु बन्दसत्र हलमा बस्नुभएको छ ।
आज विहान १० बजे बन्दसत्र सुरु हुने भनिए पनि अहिलेसम्म त्यसको टुङ्गो लागेको छैन । बन्दसत्र शुरु हुन नसक्दा महाधिवेशन प्रतिनिधिहरुलाई समय कटाउन समस्या भइरहेको छ । कतिपय प्रतिनिधिहरु घुम्न हिड्नुभएको छ भने कतिपय प्रतिनिधिहरु फोटो सेसन गरेर बस्नुभएको छ ।
सहमतिको प्रयासमा व्यस्त रहनुभएका अध्यक्ष ओली आज कार्यक्रमस्थलमा अहिलेसम्म प्रवेश गर्नुभएको छैन । बन्दसत्रमा नेताहरु सुवास नेम्वाङ, पूर्व मुख्यमन्त्री शेरधन राई, रघुजी पन्त, छविलाल विश्वकर्मा लगायतका नेताहरु वन्दसत्रको मञ्च अगाडिको कुर्सीमा बसेर प्रतिक्षा गरिरहनुभएको छ । बन्दसत्र सुरु हुनेबारे उहाँहरुले पनि अहिलेसम्म जानकारी नआएको बताउनुभयो ।
नेता पन्तले भन्नुभयो, “अध्यक्ष बस्नुभएको निवासमा के हँुदैछ, केही थाहा छैन । कतिवेला सुरु हुन्छ त्यो पनि थाहा छैन । हामी पनि तपाईहरुजस्तै कुरेर बसेका छौं ।” महाधिवेशनमा सहभागी हुन आउनुभएका प्रतिनिधिहरु पनि बन्दसत्र शुरु हुनेबारे जानकारी नआएको बताउनुभएको छ ।
अध्यक्ष ओली वस्नुभएको होटल पार्क सफारीमा केही नेताहरुको छलफल चलिरहेको छ । विहानदेखि नेताहरु आफ्नो पद सुनिश्चत बनाउन विभिन्न माध्यमबाट दवाव दिइरहनुभएको छ । नेताहरुको प्रयास र संबादपछि रातीसम्म सहमतिको सूची आउनसक्ने विश्वास प्रतिनिधिहरुले गर्नुभएको छ ।