च्वाँगढमा कालपोखरी मेलाको रौनक
गोकर्ण दयाल
बैतडी, मङ्सिर १४ गते । बैतडीको च्वाँगढ क्षेत्रको सिगास गाउँपालिकामा कालपोखरी मेलाको रौनक सुरु भएको छ । मङ्सिर दशमीको दिन लाग्ने कालपोखरी मेलामा हजारौं तीर्थालु जम्मा भएका छन् । सोमबार रातिदेखि मङ्गलबारसम्म लाग्ने मेलामा छिमेकी जिल्ला बझाङका स्थानीयसमेत मेला भर्न आएको स्थानीय सुरेन्द्र साउदले बताउनुभयो ।
बैतडीको सिगास गाउँपालिका–८, मा लाग्ने कालपोखरी मेलामा महिला, पुरुषहरु छुट्टाछुट्टै देउडा खेलमा रमाएका छन् । कठ्याङ्ग्रिदो जाडोको प्रभाव नगरी स्थानीय मेलामा रमाइरहेको मन्दिरका भणरे ( भण्डारी) धनबहादुर ऐरले बताउनुभयो ।
गोठालाले फेला पारेको कालपोखरी देउताको महिलाका बारेमा जानकारी दिनुहँदै ऐरले भन्नुभयो, “कालपोखरी देउता लेकाल ऐरले पाएको र धामीले रोजेको ठाउँ हो । मेलामा मनोकामना पूरा हुने विश्वासले सिगास गाउँपालिकाका स्थानीय रातभर जाग्राम बसेर पूजा आराधना गर्न आउने गरेका छन् ।”