महाधिवेशन सकिएपछि एमाले नेताहरु घर प्रस्थान, केन्द्रीय बैठक २५ गते काठमाडौंमा
शालिग्राम नेपाल
सौराहा (चितवन), मङ्सिर १५ गते । नेकपा (एमाले) को दसौं महाधिवेशनको निर्वाचन परिणाम घोषणा भएपछि लगतै बसेको केन्द्रीय कमिटी वैठकले मङ्सिर २५ गते काठमाडौंमा अर्को केन्द्रीय वैठक बस्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतमा वसेको बैठकले आउँदो केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी, पोलिटब्युरो समिति गठन गर्ने र कार्य विभाजन गर्ने निर्णय गरेको छ ।
शपथग्रहण सकिएलगत्तै होटल सेभेन स्टारको सम्मेलन कक्षमा बसेको केन्द्रीय कमिटीको पहिलो बैठक करिब आधा घन्टा चलेको थियो । नवनिर्वाचित मंगलबार राति पहिलो केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यबाद दिने निर्णय गरेको केन्द्रीय सदस्य बालिका गिरीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार महाधिवेशनको विषयमा देशभर कार्यक्रम गरेर जानकारी गराउने, निर्वाचनकेन्द्रित कार्यक्रम गर्ने, पार्टी प्रवेशको कार्यक्रमलाई व्यापक गराउनेजस्ता विषयमा छलफल भएको बताउनुभयो ।
बैठक सकिएपछि केही नेता घर फर्किएका छन् । महाधिवेशन प्रतिनिधिहरु पनि बुधबार विहान र अध्यक्ष ओलीसहितका शीर्ष नेताहरू पनि आज काठमाडौं फर्किनुभएको छ । मङ्सिर १० गते नारायणगढस्थित नारायणी नदी किनारमा दसौं महाधिवेशन उद्घाटन कार्यक्रम सम्पन्न भएपछि सौराहाको होटल सेभेन स्टारमा बन्दसत्र सुरू भएको थियो । १२ गतेसम्मका लागि आयोजना गरिएको महाधिवेशन दुई दिन लम्बिएको थियो ।