अवैधरुपमा खोला उत्खनन गर्ने स्काभेटर र टिपर नियन्त्रणमा
विजयकुमार साह
ढल्केबर, मङ्सिर १५ गते । धनुषाको बटेश्वर गाउँपालिका ३, स्थित सुखजोर खोलाबाट रातिको समयमा अवैध तरिकाले नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा स्काइभेटर र टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीचौकी बटेश्वरका इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज पोखरेलले मङ्गलबार मध्यराति सुखजोरबाट अवैध उत्खनन गरिरहेकाबेला १४० एनएक्सजी स्काइभेटर र प्रदेश २–०३–००१ क ०१२३ नम्बरको टिपर नियन्त्रणमा लिएको बताउनुभयो ।
प्रहरीले नियन्त्रमा लिइएको स्काभेटर र टिपरमाथि कारवाहीका लागि जिल्ला समन्वय समिति धनुषामा पठाउने प्रसनी पोखरेलले बताउनुभयो । प्रहरीले स्काभेटर र टिपर नियन्त्रणमा लिए पनि चालक भने फरार छन् । स्थानीयवासीले खोला उत्खनन भइरहेको सूचना प्रहरीलाई दिएका थिए ।
प्रहरीले नियन्त्रणमा लिएको स्काइभेटर र टिपर धनुषाको ढल्केबरस्थित साथी कन्ट्रक्सनको हाे । पछिल्लो समय ठेक्का नलागेको तथा रातको समयमा औरही, जलाद, बडहरी, सुखजोर, रातु, जगधर र कमला नदीबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन भइरहेको छ ।