खुला | प्रदेश |

बलात्कार घटनाका फरार दुई जना अभियुक्त पक्राउ

विजयकुमार साह
ढल्केबर, मङसिर १५ गते । बलात्कार घटनाका दुई जना फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । जिल्लाको बिदेह नगरपालिका ४, ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र ३२ वर्षीय अरुणकुमार महरालाई गाउँकै एक १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका हुन् ।

पक्राउ परेकामध्ये जितेन्द्रलाई तीनदिन अघि जनकपुरबाट र अरुणलाई बिदेह नगरपालिकाबाट बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनुभयो । जबर्जस्ती करणी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको छ । जिल्ला अदालत धनुषाबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

आरोपित जितेन्द्र र अरुणमाथि पीडित बालिकाकी सानीआमा शनिचेरीदेवी महराले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराउनुभएको थियो । उजुरीमा आरोपितहरुले भतिजी पर्ने बालिकालाई जनकपुरको शिवचौकस्थित एक होटलमा बन्धक बनाएर असोज ३ गतेदेखि ६ गतेसम्म जबर्जस्ती करणी गरेको आरोप छ ।

बेपत्ता भएको तीन दिनपछि घर आएकी बालिकाले घटनाबारे जानकारी गराएपछि असोज ६ गतेकै दिन प्रहरीमा उनीहरुविरुद्ध उजुरी दिएको सानीआमा शनिचेरीदेवीले भन्नुभयो । बालिकाकी आमाको मृत्यु भइसकेको र बुवाको मानसिक सन्तुलन ठीक नभएको स्थानीयले बताएका छन् ।