खुला | प्रदेश |

बाँकेमा ४८ हजार किसानको दुई अर्ब रुपियाँ बराबरको धान क्षति

सिराज खान
नेपालगञ्ज, मङ्सिर १५ गते । कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले बाँकेमा २० हजार हेक्टरमा लगाएको ८५ हजार मेट्रिक टन बढी धान क्षति पुगेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।

ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले दिनुभएको जानकारी अनुसार जिल्लामा ४८ हजार घरधुरी किसानको करिब दुई अर्ब रुपियाँ बरावरको धान क्षति भएको छ । प्रमुख ढकालले कृषि ज्ञान केन्द्रले क्षतिको लगत सङ्कलन गर्ने काम पूरा गरेको जनाउँदै पीडित किसानलाई राहतका लागि केही थप कागजात जिल्ला प्रशासन कार्यालयद्वारा मागिएकोले सो कागजपत्र उपलब्ध गराउने कार्य भैरहेको बताउनुभयो ।

जिल्लामा ३६ हजार ५०० हेक्टरमा धानखेती हुनेगरेकोमा २० हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेपछि । यस वर्ष यहाँका किसानले ठूलो नोक्सानी ब्यहोर्नुपरेको छ । बाँकेको ४८ हजार ५९ घरधुरी किसानले लगाएको धानमा क्षति पुगेको लगत संकलन गरिएको जनाउँदै कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले राहातका लागि दिनदिनै किसानहरु आउने गरेको बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष समयमा पानी परेको र सिक्टा नहरबाट पनि पानी छोडिएकाले बाँकेमा राम्रो धान फलेको थियो । धानबालीमा आत्मनिर्भर रहेका जिल्लामा कात्तिकको पहिलो साता परेको अविरल वर्षाले ठूलो नोक्सानी पु¥याएको छ ।

धानबालीमा क्षति व्यहोरेका बाँकेका किसान राहतको पर्खाइमा बसेका छन् । आफुले लगाएको सबै धान क्षति भएपछि एक दाना पनि उठाउन नपाएको जनाउँदै सरकारले कहिले राहत दिन्छ भनि प्रतीक्षामा बसेको जानकी गाउँपालिका–५ बेलहरीका किसान दिनेश बर्माले बताउनुभयो ।

उहाँका अनुसार राहात नपाएमा भोकै बस्नुपर्ने अवस्था आउन सक्ने दुःखेसो बर्माको छ । धानबालीमा भएको क्षतिको विवरण वडा कार्यालय हुँदै गाउँपालिका कार्यालय कृषि शाखामा बुझाएर राहतको प्रतिक्षामा रहेको खजुरा ४ का किसान नरेश थापाले बताउनुभयो ।

सरकारले किसानलाई राहतका लागि मापदण्ड बनाएर प्रक्रिया अघि बढाएको सुनिए पनि अहिलेसम्म पीडित किसानले केही नपाएको उहाँको भनाइ छ ।