रामनारायणका ३६ वर्ष, आफू खुइलिँदै जुत्ता चम्काउँदै
मनाेजरत्न शाही/केशब गुरूङ्ग, प्रस्तुति विष्णु पाण्डे
काठमाडौं, मङ्सिर १५ गते । ख्याउटो अनुहार झुस्स फुलेको दारी दरवारमार्गको एउटा कुनामा सधैं एउटा परिचित अनुहार काममा तल्लिन छ । चर्को घाम, मुसलधारे झरी र मुटु छेडने जाडो यसको कुनै पर्वाह छैन ।
चार सन्तानको शिक्षादीक्षा, राजधानीको चर्को भाडा सुख्खा कमाइले रामनारायण महराको जीवनरुपी रथ जेनतेन मात्र चलेको छ । केटाकेटीको पढाइ खर्च धान्न मुश्किल रामनारायणको मन उदास छ तर पनि उहाँ चहकिला ब्राण्डेड पसल छेउमै बसेर ग्रहाकमा जुत्तामा टलक दिने काममा कति पनि विचलित हुनुहुन्न ।
उहाँले यो काम थलेको ३६ वर्ष बित्यो । ३६ वर्षमा दरवार मार्गको स्वरुप फेरियाे, कुनैबेला सानसौकत बोकेको नायणहिटी दरवार संग्रहालयमा परिवर्तन भयो, जुत्ताका फेसन फेरियो यी सबै परिवर्तनका साक्षी रामनारायणको जीवनमा खासै परिवर्तन आएन । उहाँका हातले हजारौं जुत्तामा चमक थपियो तर उहाँको मुहारको भने खुइलिँदै गयो ।
धनुषामा जुत्ता सिलाउन सिक्नु भएका उहाँ पैसा कमाउन काठमाडौँ आउनुभएको हो । कमाउने उमेरसँगै उहाँलाई काठमाडौंले तान्यो । गाउँमा खानजोत गरे चलेको जीवन दाइको आग्रहमा काठमाडौँ भित्रिएपछि उहाँका संघर्षका दिन सुरु भए । विस्तारै दाइसँगै जुत्ता सिलाउने काममा उहाँ पनि लाग्नुभयो । रामनारायणले दाइसँग जुत्ता सिलाउने कला सिक्नुभएको हो । विस्तारै उहाँले जीवन धान्ने बाटो नै जुत्ता सिलाउने कामलाई बनाउनुभयो ।
रामनारायणले राजधानीको केन्द्र मानिने दरबारमार्गमा हिँड्ने हजारौँ मानिसका जुत्ता टल्काउनु भयो । तर, उहाँलाई आफ्ना चार सन्तानको भविष्यको चिन्ता छ । काठमाडौँकै सरकारी स्कुलमा पढ्ने छोराछोरीले धेरै पढेर जागिर गरुन् भन्ने चाहनुहुन्छ । बिहान बेलुकाको खानपान र छोराछोरीको पढाइ खर्च जुत्ता सिलाएर चल्ने उहाँको भनाइ छ । दैनिक हजारदेखि पन्ध्र सयसम्म आम्दानी हुन्छ । सीमित खर्चमा परिवार चलेको छ । छ हजार घर भाडा छ, उहाँ भन्नुहुन्छ, ‘छोराछोरीलाई पढाउनुपर्छ । घर खर्च चलाएर पाँच दश हजार बचत हुन्छ ।’